एनआरएनको ‘भिजन २०२० एण्ड वियोण्ड’

सेतोपाटी, २०१६ अगष्ट

नबौ गैरआवासीय नेपाली क्षेत्रिय सम्मेलन अमेरिकाको न्युजर्सी शहरमा अगष्ट महिनाको २८ र २९ तारिखमा आयोजना हुदैछ । हरेक दुई वर्षमा नेपाल बाहिर आयोजना गरिने क्षेत्रीय सम्मेलन सम्वन्धित क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीका समस्या र संभावनामा केन्द्रित हुने गर्छ । तर यसपालीको सम्मेलन एनआरएनको भावी दिशा निर्देशन गर्न ‘भिजन २०२० एण्ड वियोण्ड’ नाराका साथ आयोजना गरिदैछ । विश्वको ७४ मुलुकमा सञ्जाल फैलिएको संस्था समयअनुकुल परिवर्तन हुनु पर्दछ भन्ने वर्तमान नेतृत्वको सोच सकारात्मक छ । उसो त सन् २००३ मा स्थापनादेखि हालसम्म आई पुग्दा सँस्थाको संरचना लगायतका थुप्रै विषयमा परिवर्तन नभएका होईन ।

संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको कार्यकाल एनआरएनको संजाल बिस्तार गर्ने, एनआरएन अभियानको औचित्य देशभित्र र बाहिर पुष्टि गर्ने, बाहिर बस्ने नेपालीलाई देशको आर्थिक सामाजिक विकाशमा केही गर्नुपर्छ भन्ने भावना जागृत गर्ने र नेपाल सरकारसँग एनआरएनसम्वन्धी ऐन, कानून ल्याउन लबी गर्ने कुरामा केन्द्रित रह्यौ । रणनीतिक हिसाबले ती सबै मुद्दाहरु महत्वपूर्ण थिए र उनको कार्यकाल अत्यन्तै सफल रह्यौ ।  महतो पछिका देवमान हिराचनको कार्यकालमा पनि यिनै कुराले निरन्तरता पाए । संस्थाको विकाशक्रमसँगै बाहिर बस्ने नेपालीहरुको पूँजी मात्र नभएर ज्ञान, सिप र अनुभवलाई पनि नेपालको विकाशमा लगाउनु पर्छ तथा एनआरएनले देशको लागि मात्र होईन बाहिर बस्ने नेपालीहरुको हितमा काम गर्नु पर्छ भन्ने भावना पनि बढ्दै गयो । यसै शिलशिलामा वैदेशिक रोजगार, खुला विश्वविधालय, नागरिकताको निरन्तरता आदी मुद्दा बढी मुखरित हुदै गए । जीवा लामिछानेको कार्यकाल मुलतः तीन विषयमा केन्द्रित रह्यौ । एनआरएनएको नेपालमा कानूनी रुपमा दर्ता, सँस्थागत विकाश र संयुक्त लगानीको शुरुवात । वर्तमान अध्यक्ष शेष घलेको कार्यकाल मुख्यत काठमाडौमा एनआरएनको हेडक्वाटर बनाउने तथा भूकम्प पीडितलाई राहात दिने कुरामा केन्द्रित रह्यौ । उनको कार्यकालको बाँकी एक वर्षको अवधीमा सन् २०२० र त्यस पछी एनआरएनको कार्यदिशा कस्तो हुनुपर्छ भन्ने धारणा बनाउने कुरामा केन्द्रित हुने संकेत देखिएको छ ।

कतिपयले एनआरएन अभियानको औचित्य अब समाप्त भई सक्यो भन्ने गर्छन । नेपाल सरकारले एनआरएनसम्वन्धी ऐन जारी गरि सकेको, गैरआवासीय नेपालीको नागरिकताको विषयमा नयाँ संविधानले संवोधन गरि सकेको, संस्था दर्ता भई सकेको, संसारभर सञ्जाल फैलिसकेको अवस्थाले यस्तो सोच भएको हुन सक्छ । तर पहिलेको पुस्ताका गैरआवासीय नेपालीहरु आर्थिक र बौदिक रुपमा सफल हुदै गएको, अमेरिका यूरोपमा दोश्रो पुस्ताका नेपालीहरुको सँख्या बढ्दै गएको र वैदेशिक रोजगारमा गएका दशौ लाख नेपालीहरु स्वदेश फर्किने अवस्था नरहेले एनआरएनको अभियानको आवश्यकता झन् बढ्दै जाने देखिन्छ । कुनै पनि संस्था स्थापना संगै त्यसको समयानुसार आवश्यकता र त्यसले गर्ने कामको पनि फरक प्रकृतिको हुन्छ । त्यसैले एनआरएन अभियानको भावी कार्यदिशा कस्तो हुनु पर्छ भन्ने निर्यौल गर्न जरुरी छ ।

‘भिजन २०२० एण्ड वियोण्ड’ को विषयमा बिभिन्न क्षेत्रमा सम्पन्न भएका क्षेत्रिय बैठकहरुमा छलफल भएर अमेरिकारमा हुन लागेको क्षेत्रिय सम्मेलनमा मुर्तरुप लिई २०१७ मा हुने संघको महाधिवेशनमा यसको कार्वान्वयन हुने अपेक्षा गरिएको थियो । तर हालसम्म सम्पन्न भएका ओसियाना, मध्यपूर्व र यूरोप क्षेत्रीय बैठकमा यस बिषयमा छलफल हुन सकेन, जसले गर्दा क्षेत्रीय सम्मेलनमा अपेक्षा गरे अनुसार यो विषयले मूर्त रुप लिन कठिन हुने देखिन्छ । ‘भिजन २०२० एण्ड वियोण्ड’ को अवधारणा के हो, यसको औचित्य के हो, यस अवधारणालाई कसरी संस्थाका निकायहरुमा छलफल गराउने आदि विषयमा अन्यौल देखिन्छ । यो बिषय आफैमा बृहत छ । कमसेकम यसको बारेमा केहि पेजको लिखित दस्ताबेज छलफलको लागि अगाडी सर्न सकेको भए छलफललाई नेभिगेट गर्न सजिलो हुने थियो ।

‘पुरानो ढङ्गले चल्दैन नयाँ किसिमले चल्नु पर्छ’ मात्र भनेर छलफलले घनिभूत रुप लिन सक्दैन । पुराना रणनीति समय काल अनुसार सही नभएको भए अभियानले यो उचाई हासिल गर्न सक्ने थिएन । अवश्य पनि धेर थोरै कमिकमजोरी जहाँ पनि हुन्छन। त्यसैले पूराना सबै गलत भन्ने किसिमले प्रस्तुत हुंदा सँस्थापकहरु र पहिले कार्यसमितिका काम गरेकाहरुको चित्त दुख्न सक्छ । यो महत्वपूर्ण विषयमा उहाँहरुलाई विश्वासमा लिन कठिन हुनेछ । सँस्थामा नयाँ नेतृत्व लिन खोज्नेले आफ्नो भिजनसहित चुनावी घोषणापत्र अगाडी सारेर मतदाता सामु जाने गर्छन । यसै घोषणापत्र अनुसार आफ्ना कार्ययोजना तर्जुमा गरिन्छ । आफ्नो कार्यकाल सकिने बेलामा भिजन दिएर छाडिदैन । तर ‘भिजन २०२० एण्ड वियोण्ड’ अध्यक्षको चुनावी घोषणापत्र भन्दा फरक छ । यसले सम्पूर्ण सँस्थाको भविष्यको निर्धारण गर्ने अपेक्षा गरिएको छ र हुनु पर्दछ पनि । त्यसैले पनि सँस्थाका सबै निकाय, सँस्थापकहरु, सिंगो कार्यसमिती, राष्ट्रिय समन्वय परिषद सबैलाई विश्वाशमा लिनु जरूरी छ । सबैलाई विश्वासमा नलिएसम्म सँस्थामा अर्थपूर्ण र परिणममुखी परिवर्तन गर्न सजिलो हुने छैन ।

‘भिजन २०२० एण्ड वियोण्ड’ को अवधारणा बनाउन सँस्था बाहिरको विज्ञलाई जिम्मा दिईएको छ । उनीहरुको विज्ञतामाथी प्रश्न गर्ने ठाउँ छैन । तर एनआरएन एउटा विशिष्ट खालको सँस्था हो । यो स्थापित एनजिओ, व्यवसायी सँस्था भन्दा फरक छ । त्यसैले सँस्थासँग आवद्द भएका विज्ञलाई पनि अवधारणा पत्र बनाउन संलग्न गराउनु जरुरी छ। संयुक्त राष्ट्र संघ जस्ता सँस्थाको उच्च तहमा पुगेका, अन्तर्राष्ट्रिय ख्यातीप्राप्त प्राध्यापकहरु जस्ता व्यक्तिहरु सँस्थासँग आवद्द हुनुहुन्छ । उहाँको विज्ञताबाट सँस्था लाभान्वित हुदै आएको छ । वास्तवमा संघको सँस्थागत संरचना र भावी दिशाबारे अध्ययन गर्न संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव तथा संघका सल्लाहकार कुलचन्द्र गौतम, संयुक्त राष्ट्रसंघसंगै लामो समय आवद्द संघका सँस्थापक महासचिव तथा संरक्षक भिम उदास र कानूनविद तथा संघका सल्लाहकार विश्व कान्त मैनाली रहेको एक समितिले यस विषयमा अध्ययन प्रतिवेदन तयार पारी सकेको छ । यस्ता विज्ञहरुले तयार पारेको प्रतिवेदन केवल कागजमा सीमित राख्नु हुदैन । बाहिरका विज्ञहरुले गरेको मुल्याङ्कन प्रभावकारी नभएको उदाहरण हामी सामु छ । वर्तमान अध्यक्ष नेतृत्वमा आउँदा बित्तिकै त्रिभुवन विश्व विद्यालयका एक प्राध्यापकलाई सँस्थागत संरचनाबारे मुल्याङकन गर्न जिम्मेवारी दिईएको थियो । तर उनको अध्ययन प्रतिवेदन खासै प्रशंसनीय र उपलव्धीपूर्ण भएन । सँस्थाको कार्यदिशा आयातित भिजन भन्दा सँस्था भित्रबाटै निस्केको भिजनले निर्देशित गर्दा प्रभावकारी र दिगो हुन्छ ।

सँस्थाको संरचना मुल्याङ्कन गर्न तथा नीति तथा कार्यक्रमको तर्जुमा गर्न संघमा दुईवटा समिति छन, विधान संशोधन सुझाव तथा नियमावाली निर्माण समिति र नीति तथा कार्यक्रम समिति । यी दुबै समितिभित्र ‘भिजन २०२० एण्ड वियोण्ड’ को विषयले प्रवेश पाएको छैन । यी समितिलाई विश्वासमा लिन सकिएन वा वेवास्ता गरियो अथवा विज्ञको अध्ययन प्रतिवेदन तयार भएपछि यी समितिलाई सहभागिता बनाईने हो प्रष्ट हुदै जाला । संघको विधान संशोधनका बारेमा संघका तल्लो तहबाट प्राप्त गरेका सुझावहरुको सयौं पेजको दस्तावेज संघसँग सुरक्षित छ ।  यी दस्तावेज र गौतम उदास मैनाली समितिले तयार पारेको प्रतिवेदनलाई ‘भिजन २०२० एण्ड वियोण्ड’ को अवधारणा तयार गर्दा आधार बनाउनु पर्छ ।

अहिलेको सँस्थागत संरचनाले काम गरेन भनेर बेला बेलामा सुन्ने गरिन्छ । तर सँस्थाको वर्तमान विधी विधान, नीति नियमावलीको कुन धारा काम गर्न वाधक भएका  छ किटानिका साथ आएको छैन । २०१५ को अक्टोबरमा भएको संघको महाधिवेशनमा विधान संशोधन समितिले पटक पटक संशोधनको सुझावको लागि आव्हान गरेको थियो ।  एकाद विषयबाहेक नेतृत्वबाट सुझाव प्राप्त हुन सकेन । विधमान सँस्थागत संरचनामा समस्याको जड पहिले फेला पार्नु पर्छ । समस्याको जड बाहिरी विज्ञले कागजी रिपोर्टका आधारमा भन्दा सँघको नेतृत्वमा बसेर काम गरेका व्यक्तिहरुले पहिचान गर्न सजिलो हुन्छ । कमसेकम रोगी डाक्टरको जाँदा रोगको लक्षण डाक्टरलाई वताउन सक्नु पर्छ । डाक्टरले पनि रोग पत्ता नलगाई ‘ट्राएल एण्ड एरर’ को आधारमा औषधी दिदा ‘साईड ईफेक्टहरु’ हुन सक्छन ।

२००७ मा संघको विधानमा व्यापक परिवर्तन भयो । जसमा संघको सँस्थागत संरचना निश्चित सिद्धान्तको आधारमा तयार गरिएको छ । राष्ट्रिय समन्वय परिषदलाई संघको मेरुदण्डको रुपमा लिईएको छ । संघको नेतृत्व चयनदेखी नीति निर्माणमा राष्ट्रिय समन्वय परिषदको प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता हुन्छ । अध्यक्ष लगायतका पदाधिकारीहरु राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरुबाट प्रत्यक्ष चुनिएर आएका हुन्छन । त्यसैले उनीहरुको आआफ्नो उत्तरदायीत्व रहन्छन र संघ सामूहिक नेतृत्वमा चल्नु पर्छ । त्यसैले अध्यक्षले सबै पदाधिकारीहरुलाई विश्वाशमा लिएर काम गर्नु पर्ने हुन्छ । सँस्था अध्यक्षात्मक प्रणाली (अध्यक्ष निर्वाचनबाट चुनिने, अरु पदाधीकारी अध्यक्षको निगाहामा नियुक्त हुने) भएमा वा निजी कम्पनीको मोडेल (निर्वाचित पदाधिकारीहरु बोर्ड अफ डाईरेक्टर बनाउने र तलबी कर्मचारीलाई कार्यकारी अधिकार दिने) भएमा अध्यक्षलाई काम गर्न सजिलो हुने विचार पनि सुन्ने गरिन्छ ।

एनआरएन विशिष्ट प्रकृतिको सामाजिक सँस्था भएकोले यो न निजी कम्पनीको मोडेलमा चल्न सक्छ न अध्यक्षात्मक प्रणालीमा । सँस्थाको सचिवालय चलाउन, सानो परोपकारी काम गर्न देखी विदेशबाट लाश झिकाउनसमेत पदाधिकारी र पञ्जीकृत सदस्यहरुको आर्थिक सहयोगमा भर पर्नुपर्ने स्थिति छ । संघको कुनै बास्केट फण्ड छैन । सँस्थामा सबै जातीका, सबै भातीका, सबै बिचारका, सबै पेशाका, सबै उमेरका, भिन्न भिन्न पृष्टभूमी, समस्या र संभावना भएका मानिसहरुलाई सँगसँगै लिएर जानु पर्छ । त्यसैले नेतृत्वमा बस्नेले सबैको मन जित्नै पर्ने हुन्छ । सबैलाई विश्वाशमा लिएर अगाडी बढ्नु पर्छ । छोटो बाटोबाट सँस्था चलाउन खोज्नु हुंदैन । छोटो बाटो जोखिमपूर्ण हुन्छ।

१ सय १० देश भन्दा बढी राष्ट्रमा बस्ने ४०,४५ लाख नेपालीलाई एनआरएन अभियानमा आवद्ध गर्ने उद्देश्य लिएको सँस्थाका पञ्जीकृत सदस्यहरु ५० हजार अर्थात १% मात्र रहेका छन । यी मध्ये धेरै सदस्यहरु चुनावी प्रायोजनका लागि बनाईएका हुन्छन । यो तथ्याङ्कबाट अनुमान लगाउन सकिन्छ कि एनआरएन अभियान ग्रास रुटसम्म पुग्न अझै बाँकि छ । प्राज्ञिक क्षेत्रका व्यक्तिहरुको संघमा सहभागिता कम र घट्दो छ । आपसी विश्वाश र भाईचारा घट्दो छ । निस्वार्थ भावनामा लागेका सँस्थापक र पुराना व्यक्तिहरु हराउदै छन । व्यक्तिगत वा व्यवसायिक स्वार्थका लागि संघमा आवद्द हुनेहरुको सँख्या बढ्दो छ । अहिले सम्मका जस्ता ठुलो उचाई भएका व्यक्तिहरु नेतृत्वको लाईनमा छैनन् । नेतृत्वमा जान पैसा, निगाहा, चाकडी, व्यवसायीक सम्वन्ध र दलगत राजनीतिमा निर्भर गर्नुपर्ने अवस्थाको विकाश हुदैछ । नेतृत्व र ग्रासरुट बिचको संवाद र कनेक्टिभिटी घट्दो छ । आफ्नो भवन बनाउन लाग्ने खर्च जुटाउन समेत मेहनत गर्नु परेको छ । ठुलो संभावना हुंदा हुदै पनि भूकम्प पीडित लगायतका दैवी प्रकोपमा परेकाहरुलाई सांकेतिक सहयोग मात्र गर्न सकिएको छ । परोपकारी कामका लागि शेष घले, उपेन्द्र महतो जस्ता धनाढ्य व्यक्तिमा भर पर्नु परेको छ । कुल ग्राहस्थ उत्पादन झण्डै एक तिहाई योगदान गर्ने रेमिटेन्सको पैसालाई उत्पादकमुलक काममा लगाउन सकिएको छैन । वैदेशिक रोजगारमा जानेहरुका दिनप्रति दिनका समस्याको समाधान गर्न आफैमा चुनौतिपूर्ण छ । राष्ट्रको लगानी बिना तयार भएको दोश्रो पुस्ताका गैरआवासीय नेपालीको जनशक्तिलाई नेपालको विकाशमा सदुपयोग गर्ने वातावरण तयार गर्नुछ । त्यसैले ‘भिजन २०२० एण्ड वियोण्ड’ यिनै तमाम कमजोरी र संभावनालाई केन्द्र बनाएर राष्ट्र र गैरआवासीय नेपालीहरुले अपेक्षा गरे अनुसारको उपलव्धी हासिल गर्न सक्ने खालको हुनु पर्छ । तर कागजमा जस्तो सुकै भिजन तयार पारे पनि नेतृत्वको आफ्नै भिजन (दृष्टिकोण) मा परिवर्तन भएन भने त्यसले केही अर्थ लाग्दैन । त्यसैले सँस्थाको नेतृत्वमा रहने सबैले पहिले आँफु भित्रको दृष्टिकोण पहिचान र मुल्याङ्कन गर्न जरुरी छ ।

This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s