एनआरएन अभियानको आगामी बाटो

नेपाल समाचार, बेलायत, २००७ जुलाई

गैरआवसीय नेपाली संघ (एनआरएन)को तेश्रो बिश्व सम्मेलनको तयारीका लागि अहिले संघले बिश्वका बिभिन्न क्षेत्रमा भेलाको आयोजना गर्दैछ। केन्द्रिय नेताहरुको उपस्थितिमा यही १४-१५ मा सिङ्गापुरमा एशिया प्यासिफिक भेला ( जापान, कोरिया, हङ्कङ्, सिङ्गापुर, लगायतका राष्ट्रका एनआरएन प्रतिनिधिहरु सम्मिलित जुलाई २२ मा लण्डनमा युरोपियन भेला (जर्मनी, बेल्जियम, पोल्याण्ड, आयरल्यण्ड, बेलारुस, रसिया, नेदरल्याड, स्पेन, प्रोर्चुगल, बेलायत, अस्ट्रीया, युक्रेन, साईप्रस, नर्बे, फ्रान्स लगायतका राष्ट्रका प्रतिनिधी) सम्पन्न हुदैछन्। यति धेरै देशहरुबाट प्रतिनिधित्व हुने यस्ता भेलामा कस्ता किसिमका मुद्दाहरु उठ्नुपर्छ भन्ने बारे आँकलन गरिने छ यस लेखमा।

भूमिका: उपलब्धी र चुनौतीहरु

मुलुक बाहिर रहदै आएका नेपालीहरुको पूँजी भित्राएर देशको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने मुल उद्देश्यका साथ २००३ मा स्थापीत एनआरएनले बिगत चार बर्षमा आफ्नो अभियानका बारेमा देश भित्र र बाहिर धेरै उचाइसम्म जागरण फैल्याउन सफल भएको छ । खासगरी २००३ र २००५ सालमा काठमाडौमा सम्पन्न संघका पहिलो र दोश्रो बिश्व सम्मेलनहरुले सरकार र देशबासीको ध्यानार्षण गरेका थिए । पहिलो सम्मेलन पश्चात सरकारले गैरआवासीय नेपालीका सम्बन्धमा ब्यबस्था गर्न अध्यादेश (संसदको उपस्थिति नभएकोले) जारी गरी एनआरएनलाई कानुनीरुपमा मान्यता दिएको थियो। उक्त अध्यादेश लगानीको वातावरण बनाउन अपूर्ण भएको जिकीर गर्दै दोश्रो सम्मेलनमा संघले पूँजीका अलावा विदेशमा सिकेको  ज्ञान, सिप, प्रविधी, र पूँजीलाई सदुपयोग गरी राष्ट्रनिर्माणमा लगाउने वातावरण बनाउन सरकार समक्ष बिभिन्न सुधारका मागहरु पेश गरेको थियो। जनआन्दोलन भाग २ पछि बनेको लोकतान्त्रीक सरकारले यी मागहरुलाई अहिले थाती राखेको छ। गैरआवासीय नेपालीहरुका सम्बन्धमा बनेको परीमार्जीत विधेयक अहिले संसदमा बिचाराधीन अबस्थामा रहेको छ । सरकारको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीको भूमिकाको घोषणा गरेर गैरआवासीय नेपालीहरुबाट लगानी भित्रीने कुरामा सरकार आस्वस्त रहेको प्रष्ट पार्न खोजेका छ भने एनआरएनले सिङ्गो मुलुक अहिले संविधान सभामा  केन्द्रीत भएकोले आफ्ना मुद्दाहरु अहिले ओझेलमा पर्न गए पनि ढिलो चाँडो सरकारले आफ्ना मागहरु पुरा गर्ने  कुरामा आशाबादी रहेकोछ।

प्रवासमा पनि एनआरएनले राम्रो तरङ्ग पैदा गरेको छ। पाँच महाराष्ट्र अमेरिका, युरोप, एशिया, अफ्रिका र अष्ट्रेलियाका तीस राष्ट्रहरुमा आफ्नो संगठन बिस्तार गर्न सफल संघले मुलुक बाहिर बस्ने नेपालीहरुको हकहित र समस्याका बारे आवाज उठाएर आम प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा बिकशीत हुने कोशिस गर्दैछ। २००५ सालमा कतारको दोहामा सम्पन्न पहिलो क्षेत्रीय सम्मेलन मार्फत  मध्यपूर्वमा भएका नेपाली कामदारहरुको समस्याबारे पहिचान र समाधानका सुझावहरु, २००६ मा जर्मनीको बोनमा सम्पन्न दोश्रो क्षेत्रीय सम्मेलनमार्फत संविधान सभाको निर्वाचनमा प्रवासीबाट  मतदानको ब्यबस्था हुनु पर्ने माग र यसै सम्मेलनबाट दोहोरो  नागरीकताको मुद्दा शसक्तरुपमा उठाएर विदेशमा बस्ने नेपालीका समस्याहरु समाधानमा आफ्नो भूमिका रहेको सन्देश दिएको छ।  यी उपलब्धीका बाबजुद एनआरएन अभियानकाका आगामी दिनहरु भने चुनौतीपूर्ण देखिन्छन । एका तर्फ बिगत चार बर्षमा लगानीको लागी परिकल्पित योजनाहरु र आश्वासनलाई कार्यन्वयनको तहमा पुर्‍याउन कठिन गृहकार्य गर्नु पर्ने देखिन्छ भने अर्को तिर एनआरएन आन्दोनलाई एउटा सजीव संस्थाको रुपमा विकसित गर्न नयाँ ढङ्गले अगाडी बढ्नु पर्ने आवस्यक छ । संघको २००७ अक्टोवर १५-१७ मा काठ्माडौमा आयोजना हुन लागेको तेश्रो बिश्व सम्मेलनले एनआरएन आन्दोलनलाई एउटा निश्चित दिशातिर निर्देशित गर्ने र नयाँ नेपालमा  एनआरएनको कस्तो भूमिकाको हुने हो त्यसको स्पष्ट खाका तयार पार्ने अपेक्षा गरिएकोछ ।

एनआरएन एशिया प्यासिफिक र युरोपियन भेलाहरु एनआरएन आन्दोलनको भावी दिशा निर्धारण गर्न केन्द्रित गर्नु पर्छ। बिगतको आन्दोलनको चरणमा जस्तो प्रचारबादी र  आस्वाशनबादी शैलीलाई परिवर्तन गरी हाल  सम्मको आन्दोलनमा देखिएका कमिजोरि र भविष्यका सम्भाव्य सबै चुनौतीका बारे गहन छलफल गरी ठोस निष्कर्षमा पुग्नु पर्छ । मुलत: निम्न विषयहरुमा एनआरएनको दृष्टिकोण प्रष्ट हुन छलफल केन्द्रित हुनु पर्छ।

एनआरएनको मुल अवधारणा

एनआरएनको स्थापनाको मुख्य उद्देश्य नेपालीहरुले विदेशमा आर्जन गरेको पूँजीको लगानी गर्दै राष्ट्र निर्माण गर्नु थियो। सरकार र स्वदेशबासी नेपालीहरुको आमधारणा र अपेक्षा पनी यही नै रहेको छ।  तर २०६२ भाद्र (२००५ सेप्टेम्वर) मा लालमोहर लागेको ‘गैरआवासीय नेपालीका सम्बन्धमा ब्यवस्था गर्न बनेको अध्यादेश’ ले एक आर्थिक बर्षमा १८३ वा सो भन्दा बढी दिन मुलुक बाहिर रहेका (दक्षिण एशियाका राष्ट्रहरु बाहेक) नेपाली वा नेपाली मुलका विदेशी नागरिकलाई एनआरएनको परिभाषा दिएर एनआरएनको दाहेरा निकै ठुलो बनाएको छ। यस परिभाषा अनुसार करिव १४ लाख भन्दा बढी एनआरएन रहेको अनुमान गरिएको छ। तर यी सबै नेपालीहरु पूँजी लगानी गर्न सक्षम छैनन।

राष्ट्रलाई योगदान गर्ने आधारमा एनआरएनहरुलाई चार वर्गमा बिभाजन गर्न सकिन्छ। पहिलो वर्गमा मध्यपूर्व र अन्य देशहरुमा श्रम गर्दै आएका नेपालीहरु पर्दछन्। दुई तिहाइ भन्दा बढीको संख्यामा रहेका यस वर्गवाट भित्रीएको धन लगानीभन्दा पनि पारिवारिक गतिबिधिमा खर्चिनु पर्ने स्थिति छ। प्राय निम्न वर्गीय पृष्ठभूमि भएका यी नेपालीहरुको आर्जनबाट नेपालमा बस्ने परिवारका सदस्यहरु आश्रित छन्। एक परिवारमा औसत ४-५ जना सदस्य हुने कुरालाई आधार मान्ने हो भने करीव ४० लाख नेपालीहरुको रोजिरोटी धानिएको छ (भारत

दक्षिण एशियामा रहेका नेपालीबाट आश्रित बाहेक)। दोश्रो वर्गमा, नेपालबाट बसाई सरी विदेशी नागरिकता लिएर स्थायी रुपमा बसोबास गर्दै आएका आप्रवासी नेपालीहरु पर्दछन् । दुई-चार पुस्ता पहिलेदेखि वर्मामा रहेका ३ लाख आप्रवासी नेपालीमुलका नेपालीहरु र पछिल्लो पुस्ता देखि अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका देशमा  बसोबास गर्ने नेपालीहरु यस वर्गमा राख्न सकिन्छ। यो वर्गको मातृभूमी प्रतिको भाबानात्मक सम्बन्ध बाहेक अर्थतन्त्रमा प्रत्यक्ष फाईदा पुर्‍याउने देखिदैन। तर नेपालको कला सस्कृती विदेशमा जोगाई राख्न यो वर्गले महत्वपूर्ण भूमिका निभाउन सक्छ। तेश्रो वर्गमा, राष्ट्र निर्माणको लागि आबश्यक पर्ने दक्ष जनशक्ती (डक्टर, ईन्जिनियर, अनुसन्धारकर्ता, बिधार्थी, योजनाकार र अर्थशास्त्री आदी) पर्दछन्। राष्ट्रले ठुलो लगानी गरेर उत्पादन गरेका यस्ता जनशक्तीलाई अवसर र अनुकुल वातावरण तयार गरी नयाँ नेपाल निर्माणमा सरिक बनाउन सकिने प्रसस्त संभावनाहरु रहेका छन्। चौथो वर्गमा, ठुला तथा साना खालका ब्यापारीक वर्ग जसले देशमा साना-ठुला परियोजनामा लागानी गर्न सक्षम छन्। संख्याको हिसावले अत्यन्तै कम भए पनि लगानी भित्र्याउने हिसाबले अत्यन्तै महत्व राख्छ यस वर्गले।

यदि माथि उल्लेखित तथ्याङ्क र अध्यादेश द्वारा जारि गरिएको १८३ दिनको अबधारणाको मर्मानुसार चल्ने हो भने, सरकारी निति नियम बनाउदा सबै वर्गलाई समेट्ने खालको बनाउनु पर्छ। एनआरएनले सिद्दान्तत बाहिर बस्ने सबै नेपालीहरुलाई समेटेर अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्दै आएकोछ । तर प्रतिवद्धतालाई ब्यबहारमा ल्याउन योजनावद्ध किसिमले अगाडी बढ्नु पर्छ। गैर आवासीय नेपालीहरु सम्बन्धी बनेको हालको सरकारी नियमावली र एनआरएनले माग गरेको पूर्ण नियमावली दुबैले पहिलो, दोश्रो र तेश्रो वर्गका एनआरएनहरुसँग खासै सरोकार राख्दैन। १८३ दिने अवधारणा नेपालको आफ्नो मौलिक नभएर “गैरआवासीय भारती (एनआरआई)” बाट लिईएको छ। तर गैरआवासीय नागरिकलाई सुविधा दिने कुरामा भारतीय सरकारबाट सिको गर्न कन्जुसाई गर्न हुँदैन नेपाल सरकारले।

लगानीका सम्बन्धमा प्राप्त सुविधाको सदुपयोग

एनआरएनले आफुले सोचे अनुसार लगानीको वातावरण तयार हुन नसक्नुमा सरकारको निति-नियमहरु पूर्ण नभएको ठहर गरेको छ। संविधान सभालाई प्राथमिकता राख्ने नाममा राजदुतहरुको नियुक्ती जस्तो सहज कुरामा अनिर्णयको बन्दीमा रहेको सरकारले एनआरएनका लागी तत्काल पूर्ण निति नियम ल्याउन सफल होला भन्ने कुरामा एनआरएन त्यति विश्वशनीय नभए हुन्छ। अत: पूर्ण निति नियमको पर्खाईमा नबसेर अहिले सम्म प्राप्त सुविधाको सदुपयोग गरी अगाडी बढ्नु पर्छ। दोहोरो नागरिकता र एनआरएनको आधिकारिक संस्था दर्ताबारे सरकारी नितिले एनआरएनले अगाडी सारेको १०० मिलियन अमेरिकि डलरको ”नेपाल ईन्भेष्टमेन्ट फण्ट” को अबधारणाका लागी केही बाधक हुने देखिन्छ। तर दोहोरो नागरिकता कै कारणले लगानी भित्रिनै नसक्ने भन्ने होईन । किन भने संभावित लगानी कर्ताहरु मध्य सबैजनाले विदेशी नागरिकता लिएका छैनन। एनआरएनद्वारा अनुबन्दित मई खोला जलबिधुत परियोजना र जापानवासी नेपालीहरुको संलग्नतामा शुरु गर्न लागेको हाँडी खोला जलबिधुत परियोजनाले के प्रष्ट गर्छ भने बिधमान कानुन भित्र रहेर पनि ठुलो खालको लगानी भित्राउनु संभव छ। एनआरएन को बोन तथ्याङ्कलाई आधार मान्ने हो भने बाहिर बस्ने नेपालीहरुले नेपालको बिभिन्न क्षेत्रमा ६ अरब भन्दा बढी लगानी गरि सकेका छन्। यदि दोहोरो नागरिकताले कारणले नै कोही लगानी गर्न रोकिएको छ भने ती लगानी कर्ताको संख्या र पूँजीको स्पष्ट तथ्याङ्क सरकारलाई पेश गरेर उनीहरुको लगानीको लागि बातावरण तयार गर्न दबाब दिनु पर्छ। यसै गरी संस्था दर्ता नहुनुको कारण संस्थामा विदेशी नागरिकता लिएका सदस्यहरुको सहभागिता हो भने यस्तो प्राबिधिक समस्याले अल्झिरहनु पर्ने देखिदैन। यसका बैकल्पिक समाधानको खोजी गर्नु पर्छ। छोटकरीमा भन्दा प्राप्त सुविधाको सदुपयोग गर्दै सरकारलाई निति नियम परिमार्जीत गर्न लविङ् गर्दै जाने र विदेशमा भएका नेपालीहरुलाई लगानी गर्न उत्प्रेरण गर्ने नीतिलाई शसक्त पार्दै अभियान संचालन गर्नुपर्छ।

सामाजिक विकासमा उत्प्रेरण

पशुपतीको किरियापुत्री भवन र देवघाट बृद्याश्रम लगायतका परियोजनाहरु सञ्चालन गरेर एनआरएनले सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरालाई स्थापित गरेको छ। यसको साथै प्रत्येक एक जिल्लामा शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभुत आवश्यकतासँग सम्बन्धित परियोजनाहरु सञ्चालन एनआरएनको घोषणा प्रसंशनीय छ। यस्ता परियोजनाहरु सञ्चालन गर्दा सरकार संग सहकार्य गरेर अगाडि बढ्यो भने बढी प्रभावकारी हुनसक्छ।

जस्तो भनौ सरकारले कुन जिल्लामा कुन कुन क्षेत्रहरु विकासका लागी प्राथमिकतामा पर्दछन् त्यसको पहिचान गर्ने र त्यस क्षेत्रमा परियोजना सञ्चालन गर्नका लागी निश्चित प्रतिशत अनुदान “सिड मनी” का रुपमा दिने नीति लिने हो भने सम्बन्धित जिल्लाका विदेशमा बस्ने नेपालीहरु लगानी गर्न उत्प्रेरित हुन सक्छन।

सरकार र पार्टीहरुसँगको सम्बन्ध

सरकारले एनआरएनसंग  संबन्धित निति नियम परिमार्जित गर्न ढीला सुस्ति गर्नु तथा दोहोरो नागरिकाता र मतदान अधिकार जस्ता मागहरु पुरा गर्न कन्जुसाई गर्नुको पछाडी अधिकांश पर्यबेक्षकहरुले हालको नेपालको गतिहिन राजनीतिलाई जिम्मेवार ठहराएका छन् भने केही बिष्लेषकहरुले एनआरएन र लोकतान्त्रीक सरकार बिचको संबन्ध सुमधुर नभएर यस्तो भएको तर्क गर्छन। एनआरएनका सम्मेलनमा राजा र युवराजको सहभागिता, एनआरएनको नेतृत्व कुनै राजनैतिक पार्टीसँग प्रत्यक्ष चासो नराख्नेको हातमा रहेको, जनआन्दोलन २ को समर्थनमा मुख खोल्न ढिलाई गरेको कारणले यस्ता तर्क गर्नेहरुलाई बल मिलेको हुनु पर्छ। तर यीनै कारणले सरकारले एनआरएन पुरै संस्थालाई शंकाको घेरामा राख्नु हुँदैन । किनभने हिजोका दिनहरुमा पार्टीका नेताहरु पनि कुनै न कुनै  किसिमले राजाको सामिपमा थिए भने एनआरएनले सम्मेलनमा राजालाई सहभागी गराएकै भरमा अलोकतान्त्रीक भनेर हेर्नु न्याय संगत हुँदैन। फेरी एनआरएन एउटा गैरराजनैतिक संस्था भएकोले यसको नेतृत्वलाई राजनैतिक चश्माले हेर्नु हुँदैन। एनआरएनले पनि सरकारसँग राम्रो सम्बन्ध कायम राख्ने वाताबरण तयार गर्नु पर्छ। जनआन्दोलनको बेलामा तत्कालीन सरकारसँग सम्बन्ध बिग्रिने डरले आन्दोलनको पक्षमा बोल्न अन्तिम घडी सम्म कुर्ने एनआरएनले लोकतान्त्रीक सरकारसँगको संबन्ध राख्न त्यत्ति कै चनाखो देखिनु पर्छ। बोन सम्मेनलमा जनआन्दोलन २ पछि भएको ऐतिहासिक राजनीतिक परिवर्तनको स्वागतलाई यसको कडीको रुपमा लिन सकिन्छ। हाल सम्म कुनै पनी राजनैतिक पार्टीमा गैरआबासीय नेपालीहरुलाई हेर्ने दृष्टिकोण कस्तो हुने हो भन्ने कुरा पार्टीमा आधिकारीक रुपमा छलफल भएको छैन खाली लण्डन, मस्को वा टोकियोमा भएका एनआरएनका कार्यक्रममा सहभागी भएका बेला पार्टी नेताहरुले आफ्ना ब्यक्तिगत दृष्टिकोण दिने गरेका छन्। त्यसैले नेताहरुका ब्यक्तिगत आश्वाशनमा भर गरेर बस्नु भन्दा पार्टीहरुको गैरआवासीय नेपालीहरुलाई हेर्ने आधिकारीक धारणा बारे स्पष्ट पार्न एनआरएनले आग्रह गर्नु पर्छ। एनआरएनले तेश्रो विश्व सम्मेलनको मुख्य उद्देश्यमा नेपालका उदयमान नेताहरुसँग सञ्जाल स्थापना गर्ने घोणणा गरेको छ। यो अबश्य राम्रो शुरुवात हो। तर एउटा संस्थाको सम्बन्ध ब्यक्तिगतरुपमा नेताहरुसँग सिमित राख्नु भन्दा पार्टीसँग राख्नु बढी ब्यबहारिक देखिन्छ। फेरी सत्ताको बागडोर हातमा लिएका                  पार्टी नेताहरुसँगको सम्बन्धसँग चासो नराखी उदयमान नेताहरुसँग सम्बन्ध बढाउनु  तत्कालका लागी खासै अर्थ राख्दैन। यी बाहेक, पार्टीहरुसँग राम्रा सम्बन्ध कायम राख्न विदेशमा रहेका पार्टीका जनबर्गीय संगठनहरुसँग पनि एनआरएन राष्ट्रिय समन्वय समितिहरुले सहकार्य गर्नु पर्छ ।

एनआरएन र राजनीति

एनआरएन मुलत गैरराजनैतिक संस्था हो। एनआरएन भित्र पार्टी राजनीतिले प्रवेश नपावस भन्ने चाहाना राख्नुलाई अस्वभाविक मान्नु हुँदैन। तर प्राध्यापक, ईन्जिनियर, डाक्टर जस्ता विशुद्ध ब्यबसायीक संस्थामा त पार्टी राजनीतिले प्रवेश पाउने हाम्रो सस्कारमा एनआरएन जस्तो बृहत र बिभिन्न पृष्ठभूमि भएका सदस्यहरु समाबेश भएको संस्थामा पार्टी राजनीतिबाट टाढा राख्नु कम चुनौती पूर्ण छैन। मानबअधिकार र लोकतन्त्रको पक्षमा एनआरएनले आवाज उठाउन हुन्छ वा हुँदैन भन्ने बारे बोन सम्मेलन लगायत समयसमयमा एनआरएनभित्र उठेको भए पनि एनआरएनका दस्ताबेजहरुमा यस विषय बारे कतै उल्लेख छैन। एनआरएन एउटा विशुद्ध गैरराजनीतिक संस्थाको रुपमा विकास भन्ने चाहना राख्नेहरुले यसलाई अस्वभाविक नमाने पनि यसै विषयलाई लिएर एनआरएनको आलोचना गर्ने वा एनआरएन अभियानमा खुलेर लाग्न अफ्ठेरो मान्नेहरु पनि प्रशस्त छन्। त्यसैले एनआरएनले राजनीतिका सम्बन्धमा सबै खालका नेपालीहरुलाई सन्तुलन राख्ने खालको निति समयमा लिनु पर्छ। लोकतान्त्रीक आन्दोलनकोविरुद्ध खुलेर लागेका मान्छेहरुलाई नेतृत्व वर्गले खाली च्यापेर हिड्ने हो भने ठुलो संख्यामा रहेका लोकतन्त्रबादीहरुलाई एनआरएन प्रती बितृष्णा जाग्ने जगजाहेर नै छ।

संस्थागत विकास

एनआरएनले अबको प्राथमिकता आफुलाई एउटा अर्न्तराष्ट्रिय स्तरको संस्थाको रुपमा विकास गर्न तिर हुनु पर्छ। संस्थाका आधारभुत पुर्वाधारहरु (जस्तै, प्रचलित निर्वाचन पद्धतिबाट नेतृत्वको चयन, कुनै पनि मुद्दामा खुल्ला बहस र छलफल गरी निर्णयमा पुग्ने परिपाटि, संस्थाका उपल्लो र तल्लो तहका निकाय बिच समन्वय र पारदर्शिता, संस्थाका हरेक निकाय र सदस्यहरुका लागी आचार सँहिता, नेतृत्व बस्नेहरुको ब्यक्तिगत आचरण, आदी) लाई शुरु देखि नै विकास नगर्ने हो भने संस्था दिर्घजीवी हुनै सक्दैन। साथै निश्चित लक्ष्य, योजनावद्ध र प्राथमिकतको आधारमा कार्यक्रमहरु तय गर्ने परिपाटी बसाउनु पर्छ। यी बाहेक संस्थालाई आर्थिक र भौतिक रुपमा बलियो बनाउनु पर्छ। यत्रो ठुलो र आर्थिकरुपले सम्पन्न भएका ब्यक्तिहरु संलग्न भएको संस्थाको सचिवालय सञ्चालन आफ्नै एउटा भवन निर्मान गर्न सकियो भने विश्वभरका सारा एनआरएनहरुले गौरव गर्ने ठाउ रहने मात्र थिएन संस्थाका सबै गतिबिधीहरुलाई यहि केन्द्रिकृत गर्न सकिने भएकोले एनआरएन अभियानलाइ थप उर्जा मिल्ने थियो ।

भावी नेतृत्व

एनआरएन अभियानको भविष्य तेश्रो विश्व सम्मेलनबाट निर्वाचित नेतृत्वमा भर पर्ने निश्चित छ। वर्तमान नेतृत्वले निरन्तरता नदिने कुरा छापाहरुमा आइसकेको छ। तर बैकल्पिक नेतृत्व भने अझै तयार भइ सकेको छैन या अगाडी देखा परेको छैन। यसको एउटा बलियो प्रमाणको रुपमा एनआरएन बेलायतले हालै गरेको ‘वर्तमान नेतृत्वले नै निरन्तरता दिनु पर्ने’ निर्णयलाई लिन सकिन्छ। एनआरएन अभियानमा वर्तमान नेतृत्वले खेलेको भूमिका, एनआरएन प्रतिको लगाव, ब्यवसाहिक र प्राज्ञिक क्षमताको आधारमा एनआरएन बेलायतको निर्णयलाई अस्वभाविक मान्नु हुँदैन। यदि बर्ममान नेतृत्वले साच्चि कै निरन्तरता दिन नसक्ने हो भने एनआरएनलाई हाक्न सक्ने स्पष्ट दृष्टिकोण भएको बौद्धिक नेतृत्वको खोजी गर्नुपर्छ। किनभने ‍एनआरएनको आगामी दिनहरुको आवश्यकता भनेको  ‍चिन्तन र विचार हो।

सांराश

एनआरएनले हाल सम्म गरेका उपलब्धीहरु उत्साहप्रद छन्। तर स्वदेशमा बस्ने नेपालीहरु र सरकारले सामाजिक र आर्थिक रुपान्तरका लागी एनआरएनसँग गरेको अपेक्षाको परिपुर्ती गर्न र आफ्नो आन्दोलनलाई सार्थक बनाउन हालसम्म भएका कमी कमजोरिबाट सिक्दै निश्चित रोड म्यापको विकास गरेर मात्र अगाडी बढ्नु पर्छ। अन्यथा, एनआरएनको अभियान अल्मलिने सम्भावना बढी छ।

This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s