कान्तिपुर कोसेली, २०१६ जुन
फेरी पनि घडी मै आखाँ गयो। एअरपोर्टको ट्रान्जिटको पर्खाई अती नै पट्यार लाग्दो हुन्छ। त्यसमा पनि घर फर्किने प्रतिक्षामा त घडी चल्दै चल्दैन। घडी मै घोत्लिन मन लाग्यौं। २४ वर्ष भएछ यो घडीसँग भेट भएको। न्युरोडमा किनेको जापानिज सिटिजन घडी। त्यस पछि किनेका, उपहार पाएका अरु घडी कति बिग्रे, कति हराए र कति थन्किएका छन् तर पनि यही घडीसँग किन यती धेरै माया छ, म बुँझ्न सक्दिन।
यो निर्जीव छ तर यो सँगको सम्वन्ध कुनै सजीव बस्तुसँगको भन्दा कम छैन। जिन्दगीमा सबै भन्दा धेरै कसैलाई हेरेको छु यही घडीलाई हेरेको छु, हरेक पल पलमा हेर्छु। सबै भन्दा बढी साथमा रहेको यो बाहेक अरु कुनै बस्तु छैन, हरेक क्षण मसँग हुन्छ यो। सबै भन्दा बढी कसैको निर्देशन मानेको छु भने यसैको मानेको छु। म सधैं यसैको ईशारामा चल्छु । यसैले बेलुका सुत्न पठाउछ, बिहान उठाउछ, अफिस पठाउछ, फर्काउछ आदि आदि।
जिन्दगीको हरेक मोडमा यसले साथ दिएको छ। म सुत्दा पनि यो टिकटिक गरि रहन्छ। म थाकेर सिथिल हुन्छु तर यो रोकिदैन। म पिएर मात्तिदा पनि यसले गती बदल्दैन। कहिले यसलाई जित्न खोज्छु, कहिले यसलाई रोक्न खोज्छु तर म सधैं हार्छु। घोरिन्छु – यो समाज पनि यो घडी जस्तै एकनासले चल्ने हो भने, कसैलाई उछिन्न, पछार्न रोक्न नखोज्ने हो भने कस्तो हुन्थ्यौ होला?
कलेजको परिक्षाको तयारी गर्दा रातभर मसँग जागेको छ, परिक्षाको तीन घण्टामा यो तुफान जस्तो दौडिन्थ्यौ। सन १९९७ अक्टोवर १ तारिख रातको १२ बजे त्रिभुवान विमानस्थलमा यसलाई हेरेर पहिलो पटक विदेश लागेको थिएँ। त्यती बेला सोचेको थिईन म पनि यो घडी जस्तै पछाडि नफर्की अगाडी बढेको बढै हुन्छु भन्ने। संझिन्छु म जस्ता नेपाली कती होलान कति।
नेपालमा छदा यसलाई गहनाको रुपमा हेर्थे, टिलिक्क टल्लाएर अरुलाई देखाउन पर्ने । तर यसको महत्व विदेश लागे पछी मात्र थाहा भयो र माया ममता झन बढ्दै गयो। साझँ पुगेको थिएँ जापान। मेरा मित्र हेम राज ढकाल हानेडा एअरपोर्टमा लिन आएका थिए। मलाई होस्टलमा पुराएर उनी राती नै फर्के। भोली पल्ट संसार कै पहिलो घामको किरणसँगै आखाँ खुल्यौं। उज्यालोमा जापान हेर्ने कौतुहलता थियो। होस्टलको कोठाको झ्यालबाट सडकमा आखाँ पुग्यौ। त्यहाँ गाडी भन्दा साईकलहरु बढी कुदेका थिएँ। सामन्य खालका साईकल, मैले आईएस्सी पढ्दा काठमाडौको सडकमा दौडाउने ईण्डियन हिरो साईकल जस्ता। नेपालमा छदा सुनेको थिएँ जापानमा एकै परिवारमा २-३ वटा महङ्गा गाडी हुन्छन। बढो खुलदुली लाग्यौ, के मैले सुनेको गलत थियो?
साईकलको ताँतीसँगै ट्रेन स्टेसन तिर लाँगे पहिलो दिन क्याम्पस जान। साईकलका ताँती त्यही ट्रेन स्टसनमा रोकिए। अनी बुँझे साईकलको चढ्नुको अर्थ। हिड्नु भन्दा साईकल चढ्दा २-४ मिनट भए पनि समय बच्ने भएकोले यसो गरिदो रहेछ, पछि आफूँले पनि सिकियो। यस्ता २-४ मिनट त के २-४ घण्टा नेपालमा दिन दिनै घाम तापेर बिताईयो। सबैले बिताएका थिए आँफूले मात्र किन छाड्नु। कसैले घाम नताप्नु भनेन।
टोक्योको व्यस्त मध्यको एउटा स्टेसन ईकेबुकुरोको नजिक थियो क्याम्पस, रिक्यो युनिभर्सिटी। जब म यो स्टेसनमा झरे त्यहाँ भाग दौड जस्तो देखे, बाग्लुङको चैते दशैं मेलाको भाग दौड जस्तो, क्रान्तीकारीलाई पुलिसले लगारे जस्तो। तर त्यहाँ सुट-टाईमा सजिएका भलाद्मीहरु भागदौड गर्दै थिए। भलाद्मीहरुको भाग दौड पहिले कहिल्यै देखेको थिईन। त्यसैले एक छेउ उभिएर हेरे। एक अर्कासँग बोल्ने त कुरै छाडौ मुख हेर्ने समेत फुर्सद थिएन कसैलाई। सबै आफ्नै धुन र गतीमा दौडिदै थिए। हिडेको एकोहोरो गड्याम गड्याम आवाज मात्र सुनिन्थ्यौ। स्कुल पढ्दा गुरुले भन्नु हुन्थ्यौ – दुनियाँमा सबै कुरा पैसाले किन्न पाईन्छ तर अविभावक र समय किन्न पाईदैन। गुरुको अर्को मन पर्ने कथन थियो, नलेज एण्ड टाईम ईज मनी। गुरुले भनेको कुरा यी जापानीजहरुको रप्तार देखेर बल्ल दिमाखमा घुस्यो।
जापानमा बान्की बान्कीका घडी बजारमा देख्दा पनि मलाई यो घडी छाड्न मन लागेन। म सँगै आयो यो यूरोपमा। १९९८ मा पहिलो पटक यूरोप आउदा बल्ल यसलाई जिते। फनक्क १० घण्टा पछाडी फर्काए यसलाई। तारानाथ शर्माले कता लेखेका थिए, यूरोप जादा मैले १ दिन नाफा गरे भनेर। मेलो थिएन कसरी होला भनेर। आफूँलाई परे पछि बल्ल थाहा भयो।
ईटालीको मिलानमा रात बिताएर अर्को शहर जान बिहानैं विमानस्थल तिर लागे। जापानमा जस्तो कुनै भागदौड थिएन त्यहाँ। ट्याक्सी ड्राईभरले आन्तरीक विमानस्थलमा लानु पर्ने – अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेछ। प्रस्थान स्थल भेटाउन फसाद। टुटेफुटेको अग्रेजीमा सोधे धेरै जनालाई तर कसैले बाटो बताएनन। त्यस दिन बल्ल मलाई थाहा भयो, खैरो कपाल र गोरो छाला हुने सबैले अग्रेजी बोल्दा रहेनछन भन्ने।
यो घडीको कथा लेख्ने हो भने एउटा किताव नै तयार हुन्छ। यत्ति मै बिट मारौ कि लागेर फेरी यसैलाई हेरे, जहाज उढ्न अझै एक घण्टा रहेछ। एअरपोर्टमा पाईने १ घण्टाको निशुल्क ईन्टरनेटको कोटा पनि सकियो। अनलाईन र फेसबुक बाहेक अरु कुरामा दिल जादैन ट्रान्जिटमा । घडीकै बारे लेख्नु बाहेको अर्को विकल्प रहेन मसँग। म अगाडी बढे।
आज भोली यसलाई धेरै बटार्नु पर्छ, पश्चिम पुग्दा पछाडी, पूर्व पुग्दा अगाडि । सजीव भएको भए चित्त दुखाउथ्यौ होला। अहिलेको ईलोक्ट्रोनिक घडी जस्तो होईन यो, जुन देशमा गयो त्यही देशको समय बज्ने। समरमा १ घण्टा रोकिने र विन्टरमा १ घण्टा फड्किने पनि गर्न जान्दैन। एप्पलवाच जस्तो पनि होईन यो संसारै अटाउने। तीनवटा सुई मात्र छन, टिकटिक घुमि रहन्छन। रातीमा यसलाई हेर्न बत्ती चाहिन्छ, अरु घडी जस्तै झल्लल बल्दैन आँफै। तर पनि किन मलाई यो घडीसँग यती धेरै प्रेम छ? बिछट्ट राम्रो पनि छैन यो। यो भन्दा राम्रा उपहार आएका घडी छन तर सबै थन्किएका छन। बजारमा यो भन्दा राम्रा घडी किन्ने हैसियत पनि राख्छु। तर पनि किन छाड्न सक्दिन मैले यसलाई?
मनमनले धेरै सोचे हामी दुई बिच किन यति धेरै गाढा प्रेम छ। सायद उत्तर पनि भेटे जस्तो लाग्छ। मेरो जिन्दगीको पहिलो कमाईले किनेको घडी। पहिलो र परिश्रमको मायाँ सबै चिजमा हुदो रहेछ क्यारे। यो घडीमा मात्र होईन। मेरो पहिलो स्कुल, पहिलो कलेज, पहिलो गुरु, पहिलो साथी, आमाले खुवाएको पहिलो खाना, पहिलो गाडी यी सबै म भित्र गढेका छन – सबै उत्कृष्ट नहोलान, सबै महङ्गा नहोला। जव म विश्वका प्रख्यात ठाउँमा पुग्छु, कुनै न कुनै किसिमले मेरो देश र जन्मेको ठाउँसँग तुलना गर्छु, जहाँ मैले पहिलो चोटी पाईला टेके। मेरो हजूरबालाई लगौटी र कछाड मात्र किन मन पर्दो रहेछ बल्ल बुझ्दैछु। यो कुरा संस्कारसँग जोडिएको कुरा मात्र रहेनछ। सायद यसै भएर होला मधेशीलाई धोती प्यारो, पहाडेलाई टोपी प्यारो, गुरुङलाई भोटोकछाड प्यारो, सेर्पालाई बख्खु प्यारो भएको। आफ्नोलाई मन पराउनु, माया गर्नु नराम्रो कहाँ हो र? आफ्नोलाई मन पराउदा अरुले किन ईष्या गर्नु पर्ने? तर आफ्नोलाई मात्र माया गरेर अर्कोलाई घृणा गर्नु पनि भएन नि? यो घडीको संगतले अरु घडीलाई पनि नबिर्सिएको भए हुन्थ्यौ कि जस्तो लाग्यौ। उनीहरुलाई अन्याय पो भएको कि? उपहार दिनेले चित्त पो दुखाएका छन कि?
जहाजको प्रस्तानको सूचनाको घण्टी बज्यौ। घण्टीसँगै फेरी पनि आखाँ यही घडीमा गयो तर मैले लेख्न बन्द गर्नु पर्ने भयो।
अस्तु।