नागरिक दैनिक, २०१४ अप्रिल
बाग्लुङमा दिनहुँ दुई घण्टा पैदल हिडेर स्कुल जाने विगतका दिनहरुमा बेलायत आउने कल्पना समेत थिएन । विश्वमानचित्रमा बेलायत कहाँ छ, अमेरिका कहाँ छ अत्तो पत्तो थिएन। लाहुरे दाईहरुले विदेशको कुरा गर्दा घरबाट देखिने अन्नपूर्ण हिमालको पारी पट्टि होला विदेश जस्तो लाग्थ्यो । आकाशमा उढेको जहाजलाई पछ्याउदै दौडिन्थौ तर पनि मनमा जहाज चढ्ने चाहना र कल्पना भएन । हामी जस्तै मान्छेले जहाज उढाउँछन् र चड्छन् भन्ने मनोकांक्षा जाग्ने वातावरण थिएन। समयको नियती हाई स्कुल सकाएर राजधानीको यात्रा गरियो, उच्च शिक्षको लागि। आईएससि सकाएर गाउँको विद्यालयमा पढाओस्, घरपरिवार र समाजलाई सहयोग गरोस् भन्ने बुवाको ईच्छामा मेरो कुनै आपत्ती थिएन । ‘भेलोसिटी’ लाई गति र ‘फ्रिक्सन’ लाई घर्षण भन्दा गलल्ल हाँस्ने सहपाठीको गन्तव्यको महत्वाकांक्षा विदेश जाने हुँदैगर्दा आफ्नो भने वुवाको अपेक्षा अनुरुप गाउँ फर्कने नै थियो।
आईएससिको नतिजा आउँदा त्रीचन्द्र कलेजमा प्रथम भएको सुन्दा आफैंलाई पत्यार नलाग्ने क्षण थियो । त्यही सफलताले ममा ‘अराष्ट्रियता’को गर्भधारण गरेछ। आईएससिमा त्यती धेरै सफल नभएको भए सायद म गाउँकै विद्यालयमा सेवा गरिरहेको हुन्थें होला । भाईहरुले मैले जस्तो नेपाली पढाउने गुरुबाट विज्ञानको शिक्षा लिनु पर्ने थिएन होला, उनीहरुले अवसरका लागि डिभी चिट्टा हाल्न पर्ने थिएन होला । आईएससिको सफलताले डोराउदै बेलायतको प्रतिष्ठित विश्वविद्यालयमा अध्यापन गराउने अवसर जुरायो । बेलायतमा पाँच वर्ष काम गरि सके पछि स्वतः यहाँको स्थायी बसोवास कार्ड (पिआर) लिनु पर्ने हुन्छ, अर्को भिसाको प्रावधान छैन । परिस्थिति कस्तो आयो भने न त काम नै छाड्न सकियो, न बेलायत नै । आफ्नो बाल्यकाललाई संझिदा छोराहरुलाई अवसरबाट बञ्चित गर्न अन्याय हुने ठानियो । मनमा कसैगरे पनि ‘लालबाबु-राष्ट्रियता’ जाग्न सकेन ।
‘लालबाबु-राष्ट्रियता’को कसीमा म आफैं नक्कली ठहरिए पछि मेरा छोराहरुको पहिचान के हुने? उनीहरु आफूलाई नेपाली भन्न गर्व गर्छन् । स्कुलमा गौतम बुद्ध र सगरमाथा बारे पढाउँदा उनीहरुको छाती ढक्क फुल्छ । स्थानीय रेडियोमा ‘कुखुराको बलीले जहाज मर्मत भएको’ उपहासपूर्ण समाचार सुन्दा आफू अपमानित भएको महसुस गर्छन् । पारसको चौकामा रमाउँछन, शरदको छक्काको चाहाना गर्छन् । नेपाली नागरिकता रद्द हुने डरले बेलायती पासपोर्ट लिन मान्दैनन् । साँस्कृतिक, धार्मिक, सामाजिक र भाषिक द्वन्दका माझमा नेपाली पहिचान जोगाउन संघर्ष गर्दैछन् । स्कुलमा यहुदी, छिमेकीमा ईसाई, घरमा हिन्दु धर्मको फ्युजन छ, उनीहरुमा । विदेशी भाषाको रुपमा स्पानिस-फ्रेन्च, स्कुलमा अंग्रेजी, परिवारमा नेपाली, टेलिभिजनमा आउने हिन्दी भाषाको संमिश्रण छ उनीको बोलीमा । तैपनि टुटे फुटेकै सही नेपाली नै बोल्छन् । दशै र तिहारमा निदार सजाउछन् । होलीमा रंगिन्छन् । तर यी कुनैपनि कुरा लालबाबु-राष्ट्रियताका मापक बन्न नसक्ने भए । विदेशमा जन्माएर यिनीहरुको राष्ट्रियता र पहिचानलाई संकटमा पारेकोमा क्षमा माग्नु बाहेक अर्को बिकल्प रहेन । बाग्लुङमा उकाली ओराली गरि रहने मेरा नब्बे वर्षिय हजूरबा प्रति पनि म नतमस्तक छु -उहाँ जस्तो राष्ट्रप्रेमी हुन सकिएन । लालबाबुजी ले लगाएको नेपाली ढाकाटोपीले आफूलाई जिस्क्याई राखे जस्तो लागेकोछ। ।
मेरै जस्तो परिवेशमा हुर्केको गाउँको भाई डिभी परेर अमेरिका छ । पढेर जागिर नभेटे पछि डिभीको विकल्प रोज्यो । भाई बहिनिको सुनौलो भविष्यको लागि संघर्षशील छ । सातै दिन बाह्र घण्टा काम गर्छ । बुवा आमा उसैमा आश्रित छन् । कहिले काही सुनाउछ सुपरमार्केटमा ‘जाम’ खोज्दा गोरिनेले नबुझेपछि ब्रेड देखाएर हातले ईसारा गर्दा भनिछ- ओ! यु आर लुकिङ फर ‘ज्याम्’। तैपनि उसले हरेस खाएको छैन । सामाजिक सञ्जालमा डिभीमा जानेलाई अपराधी जस्तो कटाक्ष गर्दा पनि ऊ विचलित छैन । नारायणीमा बगाउने लालबाबुको वाणीले भन्दा गाउँको स्कुललाई केही गर्न नसक्दा उसलाई बढी पिडा हुन्छ । तर मृगौला पिडित गाउँले दाईलाई आर्थिक सहयोग जुटाउन लागिपर्दा सन्तोष मान्छ ।
छोरीको बिहे गर्न डिभी परेकै सही विदेशमा बसेको ज्वाई चाहिने, भातृसंगठनको निमन्त्रणा विदेशमा होलिडे (बिदा) मनाउदा उनीहरुको वाहीवाही गर्ने, अधिवेशन र चुनाव खर्च जुटाउन पनि उनीहरु नै चाहिने तर उनकै उपहारको विदेशी ह्विस्किको चुष्कीमा विदेशमा बस्नेको सत्तो सराप गर्ने – हाम्रा नेताको काईदा बुझ्नै गाह्रो । जिन्दगीभर देशको सेवा गरेर आफ्ना छोराछोरीसँग विदेशमा रिटायर्ड जीवन विताउने आफ्ना न्यायधिश साथीको विश्वसनीयतामाथि प्रश्न गरेर लालबाबुजीले आफ्नो वैचारिक दरिद्रता प्रष्ट गरेका छन् । बोल्दा व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्रको दुहाई दिने तर मनस्थिति चाहीँ क्युवा र उत्तर कोरियाको जस्तो, कस्तो विरोधाभास हो हाम्रो नेतामा? लालबाबुजीको भनाइमा गर्व गर्ने झलनाथजीलाई त के भनूँ र खै?
प्रवासी नेपालीमा पनि नेपालमा जस्तै विविधता छ । अधिकांशलाई विदेशमा टिक्न कै लागि पिआर वा पासपोर्ट लिनु पर्ने वाध्यता छ । छोराछोरीलाई स्थानीय सरहको अवसर, सामाजिक सुरक्षा देखि निवृतिभरण सम्मका सुविधाहरु लागी पिआर र पासपोर्टले सहजीकरण गर्छ । पासपोर्ट लिएर छोराछोरीलाई सस्तो सरकारी ऋणमा विश्वविद्यालयमा पढाउने वा लालबाबु-राष्ट्रियताको लागि उनीहरुको भविष्य बिगार्ने – अविभावकको रोजाई पहिलो नै हुन्छ। विदेशमा बसेकाले नेपालमा राजनिति गर्न पाईदैन भन्ने लालबाबुको कुरा सही छ । तर उनले बुझ्नु पर्ने के छ भने – जो नेपालमा फर्केर राजनिति गर्न वा उच्चपदमा जाने चाहना राख्छन् वा त्यसका लागि सक्षम छन् उनीहरुले विदेशी नागरिकता नलिइ नेपाली पासपोर्ट सुरिक्षित राखेका छन् । आम प्रवासी नेपालीहरुको जस्तो वाध्यता उनीहरुमा छैन । पुरै जीवन राजनितिमा समर्पण गरेका नेताहरु विदेशबाट आउने पाउना उम्मेदवारसँग भिड्न डराउने कस्तो आत्मबल हो?
राष्ट्रप्रती सबैको दायित्व हुनु पर्छ भन्ने लालबाबुजीको भावनामा असहमत रहने कुरा भएन । जनताको करबाट तलबखाने कर्मचारीको मात्र होईन हरेक नागरिकको राष्ट्रप्रति दायित्व हुनु पर्छ । समाजलाई नेतृत्व गर्नेहरु त झन उदाहरणीय बन्न सक्नु पर्छ । राष्ट्रले लाखौं लगानी गरेर उत्पादन गरेको शिक्षित जनशक्तीको जिम्मेवारी अझ बढी हुन्छ । तर जिम्मेवारीको बहन र मापन गर्ने लालबाबु-तरिका निर्विकल्प हुन सक्दैन । यसलाई भौगोलिक सीमा र मानिसको परिस्थितिसँग जोडेर हेर्नु हुँदैन । आजको युगमा दायित्वबोध हुनेले धर्तीको जुन कुनामा बसेर पनि देशको सेवा गर्छ । नगर्नेले नेपालमा बसेर पनि, सिंहदरवारको सिंहासन मै आसिन भएर पनि नगर्ने रहेछ ।
द्वन्द र राजनीतिक आस्थिरताले एक सय दशभन्दा बढी राष्ट्रमा लाखौ नेपालीहरु संघर्षशील छन् । कान्छो डायस्पोरा भएर पनि मेहनत र ईमान्दारिताले छोटै समयमा प्रगति तिर उन्मुख छन् । उनीहरुलाई घृणा, शंका र अविश्वासको भावनाले हेर्ने भन्दा उनीहरुले आर्जन गरेको सिप, पूँजी, अनुभव र एक्सपोजरलाई कसरी राष्ट्रले सदुपयोग गर्न सक्छ त्यतातिर ध्यान जानु पर्छ । विदेशीने नेपाली प्रति राष्ट्रको दृष्टिकोण र नीति पहिले नै बनाउनु पर्थ्यो, अब चाहीं ढिला गर्नु हुँदैन । होइन भने आउदो पुस्तापनि राष्ट्रियताको कसीमा उभिई रहनु पर्ने छ । अहिलेको भूमण्डलिकरण युग र नेपालको खुला नीतिले विदेश जानेलाई रोक्न सकिदैन, न्यूनिकरणका थुप्रै उपाय भने उपलव्ध छन् । हामी जस्तै अल्पविकसित राष्ट्रले अपनाएका नीतिबाट सिक्न सकिन्छ । भई सकेको ‘ब्रेन ड्रेन’ लाई कसरी ‘ब्रेन गेनमा’ परिणत गर्ने र भूमण्डलिकरणले प्रदान गरेको अवसरलाई मुलुकको हितमा कसरी सदुपयोग गर्ने भन्ने तिर पो राष्ट्रको ध्यान केन्द्रित हुनु पर्छ ।