विदेशमा नेपाली संचारमाध्यम

कान्तिपुर दैनिक, २००८ मार्च

मुलुक बाहिर बस्ने नेपालीहरुको सँख्या बढ्ने क्रमसँगै नेपाली भाषाका सञ्चार माध्यमको बिकासले पनि गति लिदैछ। अहिले नेपाल बाहिर सबै खालका सञ्चार माध्यमहरु; टेलिभिजन, रेडियो, छापा पत्रिका र अनलाईन पत्रिकाहरु उपलब्ध छन। यिनीहरु मध्य कतीपय नेपालमा उत्पादन भइ विदेशमा बिस्तार भएका छन भने कतिपय बिदेशी भूमिमा नै उत्पादन भइ सञ्चालनमा छन्। समाचारको सुलभताको हिसाबले अब देश भित्र रहनु र संसारको अन्य कुनै कुनामा रहनुमा खासै फरक नपर्ने भएकोछ।

टेलिभिजन

नेपालबाट प्रसारण हुने कान्तिपुर टेलिभिजन, ईमेज च्यानल, नेपाल वन, नेपाल टेलिभिजनले भुउपग्रहीय प्रविधिबाट खाडी क्षेत्रमा आफ्नो बजार बिस्तार गर्दै आएकाछन। बेलायत स्थित ग्यालेक्सी टेलिभिजन मार्फत नेपाल टेलिभिजनले युरोपमा आफ्नो सेवा बितरण गर्दै आएकोछ। बेलायत कै नेपाली टेलिभिजन युकेले आफ्नो बजार युरोप हुदै बिश्वको अन्य क्षेत्रका दर्शक सम्म पुग्ने कोशिस गर्दैछ। विदेशी भूमिमा उत्पादित पहिलो नेपाली टेलिभिजन ‘सगरमाथा टेलिभिजन‘ ले अमेरिकामा निरन्तरता पाइरहेकोछ। भुउपग्रहीय प्रविधिबाट सीमित क्षेत्रमा मात्र उपलब्ध भए पनि ईन्टरनेटको माध्यमबाट संसारको जुनसुकै कुनाबाट प्रत्यक्ष हेर्न सक्ने प्रविधीको बिकास भएकोछ। जापान स्थित नेपाल ईन्टरनेस्नल टेलिभिजन नेटवर्क (एनआईटिभी)ले यस प्रविधिको प्रयोगबाट नेपालबाट प्रसारण हुने प्राय सबै टेलिभिजन, रेडियो र एफएमहरुलाई पाठक समक्ष पुराउदै आएको थियो। तर उच्च र महङ्गो प्रविधि, कम गुणस्तर, कमजोर बजार ब्यबस्थापनका कारणले एनआईटिभीको यस सेवाले लोकप्रियता हासिल गर्न नसकी हाललाई स्थगित छ।

रेडियो

रेडियोहरुमा युके, ब्रुनाई र नेपालबाट संयुक्तरुपमा सञ्चालन हुने बिएफबिस (ब्रिटिस फोर्स बोर्डकास्टिङ सर्भिस) गोर्खा रेडियो सबै भन्दा बढी बिश्बब्यापी र सुलभ छ। ब्रिटिस गोर्खाहरुको लागि सञ्चालित यो रेडियो चौविसै घण्टा ईन्टरनेटको माध्यमबाट संसारको जुनसुकै कुनाबाट पनि प्रत्यक्ष सुन्न सकिन्छ भने तरङ्गमा आधारित परम्परागत रेडियो युके लगायत ब्रिटिस गोर्खाहरु कार्यरत बोस्निया, अफगानिस्थान, इराक लगायतका देशहरुमा सुन्न सकिन्छ। विदेशमा कार्यरत ब्रिटिस गोर्खा र उनीहरुका परिवार बीच लोकप्रिय यस रेडियोले राष्ट्रिय स्तर देखि जिल्ला स्तरका समाचार, गीत संगीत, साहित्य लगायत विविध पक्षलाई समेटेकोछ। अमेरिकाबाट सञ्चालन हुने रेडियो दोभान र क्यानाडाबाट सञ्चालन हुने नमस्ते रेडियोहरु भने सीमित समयमा मात्र प्रसारण हुन्छन।

अनलाईन पत्रिका

अमेरिका, युरोप, मध्यपूर्व र एशियाप्यासिफिकबाट दुई दर्जन भन्दा बढी अनलाईन पत्रिकाहरु सञ्चालनमा छन्। नेपालबाट प्रकाशित प्राय जसो दैनिक, साप्ताहिक, पाश्चिक पत्रिकाहरु पनि ईन्टरनेटमा उपलब्ध छन। तर प्रवासी नेपालीहरुको समाचारका लागि भने अनलाईन पत्रिकामा नै भर पर्नु परेकोछ। नेपाल र विदेशबाट संयुक्तरुपमा सम्पादन र प्रकासन हुने फ्रिनेपाल डट कम, नेपालब्रिटेन डट कम, नेपालदुबई डट कम, नेपालजापान डट कम, नेपालयुके डट कम, समुन्द्रपारी डट कम लगायतका अनलाईनले नेपालका स्थानीय र राष्ट्रिय चासोका बिषय देखि लिएर प्रवासी नेपालीका गतिबिधिहरुका ताजा समाचार नियमितरुपमा पस्कने गरेका छन। नेपालकोरियान्युज डट कम लगायतका अनलाईनहरुले स्थानिय नेपालीका गतिविधिहरुलाई जोड दिदै आएका छन्।

समाचारको साथमा साहित्य र मनोरञ्जनलाई पनि अनलाईनले राम्रै स्थान दिएका छन। एचकेनेपाल डट कम, इनेपालन्युज डट कम, डिसिनेपाल डट कम लगायतकाले समाचारको अलावा नेपाली चलचित्र, लोकगित भिडियो लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु उपलब्ध गराएका छन्। अमेरिकाबाट प्रकाशन हुने नेपाली भाषाको पहिलो अनलाईन नेपालीपोष्ट डट देखि तद्पश्चात स्थापना भएका, इनेपाली डट कम, इनेपालन्युज डट कम, नेपालअरब डट कम, नेपालहोराइजन डट कम, नेपालमलायाखबर डट कम, नेपालीन्युजयुयसए डट कम, प्रवासीनेपाली डटकम, युरोनेपाल डट कम आदि पनि समाचारका श्रोत बन्दै आएका छन।

नेपालमा इन्टरनेटको प्रयोग अत्यन्त कम भएकाले अनलाईन पत्रिकाले सम्पुर्ण स्वदेशबासी र प्रवासीलाई आपसमा जोड्न नसके पनि काठमाडौ लगायतका मुख्य शहरहरुमा हुनेहरुलाई प्रवासीका गतिबिधिका जानाकारी गराउन सफल छन। विदेशबाट संचालित अनलाइन अधिकांश नेपालबाट पनि अपडेट भैरहेकाले थोरै मात्र भए पनि नेपालमा रोजगारको अवसर जुरेको छ।

पेसागत र ब्यबसायिक दृष्टिकोणले भन्दा प्रकाशकको ब्यक्तिगत शौक र अन्य निहित कारणले सञ्चालन भएका अनलाईन खुट्याउन गाह्रो छैन। थोरै मात्र अनलाईनहरु पेसागत पत्रकारबाट सञ्चालित छन्। छापा पत्रिकाको दाँजोमा अनलाईन पत्रिका प्रकाशन गर्न प्राविधिक रुपले सरल र सस्तो हुने, पत्रिकाको जस्तो वितरणको ब्यबस्था गर्न नपर्ने, बजारको भौगोलिक सिमा नहुने, समाचार सामग्री जुटाउन कठिन नहुने आदि कारणले यति धेरै अनलाईन सञ्चालनमा आएका हुन सक्छन। तर गुणस्तरिय पत्रकारिताका लागि अनलाईनहरुले निकै मेहनत गर्नु पर्ने देखिन्छ। अत्यन्तै सम्वेदनसिल बिषयलाई हल्कारुपमा समाचार प्रकाशन भएका, सस्तो लोकप्रियताको लागि सामान्य समाचारले उच्च महत्व पाएका, श्रोत नखुलेका गलत समाचार संप्रेषण भएका, समाचार साभारको श्रोत नखुलाइएका, भाषिक अशुद्धता लगायतका थुप्रै कमि कमजोरीहरु नियमित रुपमा देखिन्छन्। सबै अनलाईन कानूनीरुपमा दर्ता भएर सँस्थागत रुपमा प्रकाशन भएका छैनन्। कानून र पत्रकारिताको धर्ममा बन्दित पनि नहुने अनि गुणस्तरको बिकास पनि नगर्ने हो भने अनलाईन पत्रिकाको बिश्वशनियता र निरन्तरता माथि नै प्रश्न चिन्ह खडा हुने निश्चित छ।

छापा पत्रिका र कतारमा कान्तिपुर

बाहिर बस्ने नेपालीहरुमध्ये सबैको ईन्टरनेटमा पहुँच नभएकोले छापा पत्रिकाको सान्दर्भिकता अहिले पनि त्यति नै छ। एक अनौपचारिक तथ्याङ्कका अनुसार मध्यपुर्वमा कार्यरत दश लाख भन्दा बढी नेपालीहरु मध्ये ५% भन्दा कमलाई मात्र ईन्टरनेटको उपलब्धता छ। ईन्टरनेट सहज उपलब्ध भएका देशहरुमा पनि छापा पत्रिकाले अझै निरन्तरता पाएका छन। टिकोयो स्थित सोफिया विश्वबिधालयका पत्रकारिता विषयका एक नेपाली बिधार्थीको अनुसन्धान अनुसार अहिले भारत र नेपाल बाहेकका करिव एक दर्जन देशहरुमा करिब दुई दर्जन नेपाली साप्ताहिक र पाश्चिक पत्रिका प्रकाशनमा छन्। यी देशहरुमा हङकङ, मलेसिया, जापान, कतार, सउदी अरव, युएई, अस्ट्रेलिया, युके, युएसए आदि पर्दछन। यी पत्रिकाहरु मध्य कतिपय साधन श्रोतको कमीले नियमित रुपमा प्रकाशन हुन सकेका छैनन। ऐक्यबद्दता मासिक लगायतका नेपालमा छापिने केही पत्रिकाहरुले आफ्नो बजार विदेशमा बिस्तार गर्ने जमर्को गरेका छन। तर नेपालमा छापेर विदेशमा वितरण गर्न खर्चिलो र समय लाग्ने भएकोले यिनीहरु त्यति सफल हुन सकेका छैनन। यस परिस्थितिमा कतारबाट भरखर प्रकाशन हुन थालेको कान्तिपुर र यस पुर्व देखि नै त्यहाँ प्रकाशित राजधानी साप्ताहिकले छापा पत्रिकाको निरन्तरताका लागि महत्वपूर्ण भुमिका खेल्नेछ।

कान्तिपुर कतार संस्करणको प्रकाशन पछि मध्यपूर्वका त्यस प्रकाशन सम्म पहुँच हुने नेपालीलाई मातृभूमि प्रति बेखबर हुनु नपर्ने भएकोछ। कान्तीपुर नेपाल संस्करणमा स्थान नपाएका प्रवासी नेपालीहरुका समाचारलाई कतार संस्करणमा प्राथमिकता दिएको छ, जुन स्वागत योग्यछ। यसले गर्दा अब विदेशमा बस्ने नेपालीहरुको समाचारका लागि अनलाईन पत्रिकामा मात्र भर नपर्नु पर्ने भएकोछ। कान्तिपुरको यस संस्करणलाई प्रवासी नेपालीको अनलाईन संस्करणमा बिस्तार गर्न सक्यो भने संसार भरका पाठक लाभान्वित हुने थिए।यसले गर्दा अहिले सञ्चालित अनलाईन पत्रिकाहरु प्रतिस्पर्दामा आउन बाध्य भएर गुणस्तर सुधार्ने मौका पाउने थिए।  

विदेशमा सञ्चालित पत्रिकाको भूमिका

विदेशमा प्रकाशन हुने नेपाली भाषाका सञ्चार माध्यमको भूमिका समाचार संप्रेषणमा मात्र सीमित रहनु हुदैन। आँफु कार्यरत देशको भाषाको ज्ञान नहुदा बिभिन्न खालको दुर्घटना निम्तिने गरेका छन। त्यसैले नेपाली सञ्चार माध्यमले स्थानीय समाज र सस्कृतिसँग सम्बन्धित सामग्री तथा दैनिक जीवनका लागि आबश्यक पर्ने सामान्य नीति-नियमका बारे जानाकारी गराउने हो भने यस्ता दुर्घटना कम गर्न सहयोगी हुने थिए।विदेशमा कार्यरत नेपाली कामदारहरु समस्या, अधिकार, रोजगारको क्रममा विदेशको जेलमा निर्दोष नेपालीहरु आदि विविध बिषयमा खोजमुलक बिषयहरुलाई प्राथमिकता दिने हो भने वैदेशिक रोजगारका देखिएका समग्र समस्याहरुको समाधान गर्न महत्वपूर्ण सहयोग हुनेछ। यसैगरी युरोप अमेरिका बसाई सरेका नेपालीहरु र उनका सन्ततीहरुमा नेपाली भाषा  संस्कृतीलाई जीवन्त राख्न पनि नेपाली भाषाका सञ्चार माध्यमको ठुलो भुमिका रहन्छ।

पत्रकारिताको बिकासमा सहयोगी भूमिका

नेपाली सञ्चार माध्यमलाई मुलुक बाहिर बिकास, बिस्तार र संवर्द्दन गर्न नेपाल पत्रकार महासंघ, प्रवासमा भएका नेपाली संघ सँस्थाहरु, ब्यबसायीहरु तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) जस्ता अन्तराष्ट्रिय सञ्जाल भएका सँस्थाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन। मुलुक बाहिर सञ्चालनमा आएका पत्रपत्रिकालाई महासंघमा आबद्ध गरी पेशागत बिकासमा सहयोग पुर्याउन सकिन्छ। तर महासंघको यस तर्फको दृष्टिकोण अस्पष्ट र फितलो देखिन्छ। अनलाईन मेडियाहरु बिकासका लागि स्थापित पुरानो सँस्था (अनलाइन मिडिया एसोसियसन नेपाल)लाई मान्यता दिने बिषयमा महासंघ बिबादित बन्दै आएकोछ। यसै गरी विदेशमा कृयासिल सँस्थालाई महासंघमा आवद्ध गर्न चासो नदेखाई न्युन भूमिका भएका संघ-सँस्थालाई प्राथमिकता दिएको बिषयलाई पनि धेरैले बुझेका छैनन।

एनआरएन अभियानलाई बिश्वब्यापी बनाउन सहयोगी भूमिका खेल्ने अनलाईन पत्रिकाहरुको संवर्द्दन र सहयोगको लागि संघले निश्चित अवधारणा बनाउन जरुरीछ। संघका हाल स्थापित महिला सञ्जाल, युवा सञ्जाल जस्तै गैरआवसीय नेपाली पत्रकारको पनि एउटा छुट्टै सञ्जाल तयार गर्न सक्छ। पत्रकारिताको विकास लागि भनेर स्थापना भएका प्रवासी नेपाली पत्रकार संघ जस्ता सँस्थाहरुलाई एनआरएन र नेपाल पत्रकार महासंघले समन्वयात्मक रुपमा अगाडि बढाउन सक्छन। यसै गरी संघका सम्मेलनहरुमा नेपाली मेडियाको विकास-विस्तारका विषयमा छलफल चलाउने, सम्मेलनमा खर्च हुने करोडौ रुपैयाको केही अंश सम्मेलनको प्रचार प्रसारमा सरिक अनलाईनलाई प्रदान गर्ने जस्ता उपायहरु अवलम्बन गर्न सक्छ।

ब्यबसायिक पत्रकारिताको बिकासका लागि विदेशमा कार्यरत नेपाली संघ सँस्थाहरु र ब्यबसायीहरुको महत्व भुमिका रहन्छ। अनलाईनको आय श्रोत यीनै सँस्था र ब्यबसायीहरुमा प्राप्त हुने बिज्ञापनमा भर पर्दछ। तर जापान लगायत एक दुई देशलाई छाडेर अन्य देशमा अनलाईनले यस्तो खालको सहयोग त्यति धेरै पाएको देखिदैनन।सामुदायिक अनलाइनको बिकास गर्ने बिरलै भएका प्रयासहरु पनि सफल हुन सकेका छैन। विदेशमा कार्यरत सञ्चारकर्मी र प्रकाशकहरु बिच पनि आपसी सहकार्य हुनु जरुरी छ। कतिपय बिकसित देशहरुले अल्पसंख्यक जातीको भाषा (पत्रकारिता) संवर्द्दन गर्ने नीति लिएका छन। यस्ता देशहरुमा नेपाली दुतावासको सहयोगमा त्यहाँको सरकारको सहयोग लिन पनि संभव हुन सक्छ।

This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s