एनआरएनएका विगत दुई वर्ष र आगामी बाटो

एनआरएनए १०औ महाधिवेशनमा पेश प्रतिवेदन, २०२२ मार्चः

विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो । हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको छ ।

स्थापनाको १८ वर्षिय अवधिमै ८५ देशमा औपचारिक सञ्जालको विस्तार गरेर बाहिर बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको छ । गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकता तथा आप्रवासी कामदारहरुसँग जोडिएका ऐन कानून मार्फत गैरआवासीय नेपालीहरुका हकहितका विषयहरु सम्बोधन मात्र भएको छैन, हामी विदेशमा बस्नेहरुमा पनि मातृभूमीप्रतिको दायित्व झन् थपिएको छ ।

संघको ९ औँ महाधिवेशनबाट कुमार पन्तज्यूको नेतृत्वमा यस कार्यसमितिले मिति १७ अक्टोबर २०१९ देखि कार्यकाल सुरु गरेको थियो । मिति २०२० जनबरी १८-२० मा पोखरा भएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को दुई दिने बैठकबाट २ वर्षको कार्ययोजना तयार गरेको थियो । १० मुख्य मिशन (व्यापक सहभागिता, सम्मानपुर्ण वैदेशिक रोजगार, प्रविधियुक्त एनआरएनए, लगानीमा योगदान, बहुआयामिक एनआरएनए, परिणाममुखी एनआरएनए, सीप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएन, उत्तरदायी,  पारदर्शी र दिगो एनआरएनए) सहित पहिले जारी रहेका मेघा परियोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ (सन्दर्भ सामाग्री १)। यस कार्यसमितिले नेतृत्व समालेको केही समय पश्चात नै विश्व कोभिड १९ ले आक्रान्त बन्यो र हामी सामु महामारीविरुद्ध लड्नुपर्ने ठूलो चुनौती थपियो । विदेशमा रहेका लाखौँ नेपालीको अवस्थादेखि, मध्यपूर्वमा श्रमिकका रुपमा रहेका नेपाली दाजूभाई दिदीबहिनीलाई आवश्यक सहयोग जुटाउनेदेखि रोजगारी गुमाएका, अलपत्र परेकाहरुलाई स्वदेश फिर्ता गर्नुपर्ने दायित्व हामीमाझ थियो र हालका दिनसम्म पनि सो दायित्व यथावत छ जसमा हामीले काम जारी नै राखेका छौँ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बीच संघले गर्नु पर्ने कुनै पनि दायित्वबाट हामी पछि हटेनौँ । यस कार्यकालका लागि निर्धारित गरिएका अधिकांश कार्ययोजनाहरु लागू गरिएका छन् भने यसअघि प्रतिबद्धता जनाएका, १० अर्ब परियोजना, लाप्राक नमुना बस्ती लगायतका पूर्व घोषित कार्यक्रमहरु निष्कर्षमा पुर्याइएको छ । बाँकी प्रतिबद्धताहरु पुरा हुने चरणमा रहेका छन् । २०१९-२०२१ कार्यकालमा गरेका महत्वपूर्ण कामहरुको साराशं र भावि योजना यहाँ प्रस्तुत गरेको छु ।

१) कोरोना कहरमा गैरआवासीय नेपालीहरुलाई राहत र सहयोग

विश्वब्यापीरुपमा फैलिएको कोरोनाको महामारीमा परेका गैरआवासीय नेपालीहरुलाफ सहयोग गर्न  गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तज्यूको कोभिड १९ उच्चस्तरीय समिति गठन गरिएको थियो । उक्त समितिले 3R-Program (Relief, Repatriation and Rehabilitation) को रणनितिक योजना बनाई विभिन्न कामहरु भएका छन् । विश्वका विभिन्न ४९ देशका २९७ भन्दा बढी शहरहरुमा २५ सय भन्दा बढी स्वयःसेवक परिचालन गरेर कोरोना प्रभावित १ लाख ७० लाख गैरआवासीय नेपालीहरुलाई जनचेतनासहित राहत तथा उद्धारमा सहयोग गरिएको छ ।  सो क्रममा विश्वभरका २ सय गैरआवासीय नेपाली चिकित्सकबाट प्रत्यक्ष रुपमा स्वास्थ्य परामर्श प्रदान गरिएको छ । राहतको लागि राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) र दातृनिकायबाट ३२ करोड ४७ लाख ८६ हजार रुपैयाँ (नेपालमा पठाएको स्वास्थ्य सामाग्री सहित) परिचालन गरिएको छ । यसका साथै, संघको स्वास्थ्य समितिमार्फत चौबीसै घण्टा आपतकालिन टेलिफोन सेवा सञ्चालन गरिएको छ । विभिन्न पोस्टर पम्प्लेटमार्फत सचेतना कार्यक्रम सम्पन्न भएका छन् । यसैगरी अडियो–भिडियोमार्फत सचेतना कार्यक्रम सम्पन्न गरिएका छन् ।  यस्तै  कोरोना महामारी लक्षित विशेष वेभसाइट सुरु भएको छ (सन्दर्भ सामाग्री २)। कोरोनाका कारण मानसिक स्वास्थ्यमा परेका गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न विश्वव्यापी बृहत् टेलिहेल्थ सेवा सुरु गरिएको छ  । राहत र सहयोगको बिस्तृत रिपोर्ट न्युजलेटमा प्रकाशित गरिएको छ (सन्दर्भ सामाग्री ३) भने एक रिपोर्ट परराष्ट्र मन्त्रालयमा पेश गरिएको छ (सन्दर्भ सामाग्री ४) ।

)  कोरोना कहरमा अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरी श्रमिकको उद्धार, बैदेशिक रोजगार सम्बन्धि श्वेतपत्र

कोरोना लक्षित राहत तथा उद्दारका कार्यक्रम अघि बढाउन संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सँग अनुदान सम्झौता सम्पन्न भयो । सो क्रममा  दुई चरणमा गरेर युएस डलर ८ लाख ६२ हजार ६ सय ७९ (झण्डै १० करोड) अनुदान स्वीकृत भएको छ । यस अन्तर्गत २०२१, अगष्ट महिनाको अन्त्यसम्ममा मलेसिया, कतार, साउदी, युएई, कुबेत, बहराईन, ओमान, कम्बोडिया लगायातका देशबाट २३ हजार १३ नेपाली श्रमिकहरुलाई सम्पर्क गरिएको मध्ये २२ हजार ४  सय १२ जनाले प्रत्यक्ष सेवा लिएका छन् । करीब ३ हजार ३ सय ३४ जनालाई खाना तथा सेल्टरको सहयोग, ६ सय ३८ जनालाई हवाई टिकटको व्यवस्था, ५ सय ७२ जनालाई पीसीआर सेवा, १ सय ४३ जनालाई सम्बन्धित देशका जरिवाना तिरिदिएर तथा हवाई टिकटको ब्यवस्था गरी उद्धार गरिएको छ । दुतावाससँगको समन्वयमा सय जनाभन्दा बढी नेपाली श्रमिकहरुलाई हवाई टिकटको व्यवस्था गरी जेलबाट उद्धार गरिएको छ । ४ सय ८८ जनालाई कानुनी सेवा प्रदान गरिएको छ भने १ हजार २ सय १ जनालाई विभिन्न किसिमका परामर्श सेवा प्रदान गरिएको छ । ४ हजार ८ सय ५३ जनालाई विभिन्न प्रकारका कागजी प्रक्रिया तथा समन्वयात्मक सहयोग गरिएको छ । गन्तव्य देशमा रोजगारी गुमाएकामध्ये २ सय ५४ जनालाई सोही देशहरूमा पुनःरोजगारी र कार्यक्रममार्फत उद्दार सहायता पाएर नेपाल आइसकेपछि त्रिभुवन विमानस्थलबाट घरसम्म जान कार्यक्रमका स्वयंसेवकहरूको सहजीकरणमा १ हजार ३ सय २८ जनालाई यातायात खर्च तथा एक छाक खानाको समेत व्यवस्था गरिएको छ । १ सय २६ जना श्रमिकहरुलाई काठमाण्डौमा होटल क्वारेटिनको व्यवस्था समेत गरिएको छ । यसैगरी, अवैध रुपमा कामको सिलसिलामा कम्बोडियामा गई समस्यामा परेका २२ जना नेपाली श्रमिकहरुलाई सम्बन्धित नेपाली दुतावाससँगको समन्वयमा राहत तथा उद्दार गरी नेपाल फर्काइएको छ  (सन्दर्भ सामाग्री ५, ६)। बैदेशिक रोजगारमा देखिएकता चुनौति र संभावना बारे विज्ञहरुबाट एक श्वेतपत्र तयार गरिएको छ  (सन्दर्भ सामाग्री ७)।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको स्वेच्छिक फिर्ती, उनीहरुका लागि दिगो पुनःएकीकरण कार्यक्रम, सुरक्षित आप्रवासनसहित लगायतका कामहरु गर्ने योजान रहेको छ ।

३) कोरोना कहरमा मातृभूमिलाई सहयोग

कोरोनाको पहिलो लहर सुरु भए लगत्तै विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीको सहयोगमा पीपीई, मास्क, ल्लोब्स लगायतका रु ४ करोड १६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग स्वास्थ्य सामाग्री प्रदान गरियो । यस्तै, कोरोना महामारीको दोस्रो लहर व्यापक बन्दै गएपछि नेपालमा देखा परेको चरम अक्सिजन अभावलाई न्यूनिकरण गर्न विभिन्न देशबाट संघको पहलमा अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । जस अन्तर्गत, विभिन्न एनसीसीको सहयोगमा १०११ अक्सिजन सिलिन्डर र ८५७ अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ  ।  यसैगरी एनआरएनए फाउन्डेशनको संयोजनमानेपालका विभिन्न ४ प्रदेशका सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, भरतपुर अस्पताल, कर्णाली एकेडेमि अफ हेल्थसाइन्समा अक्सिजन प्लान्ट स्थापना गर्न  लागिएको छ (एक प्लान्टको लागि करिब रु १ करोड १० लाखको लगानीमा)। अक्सिजन प्लान्ट सहित दोस्रो लहरमा ११ करोड ७७ लाख रुपैया बराबरको सहयोग गरिएको थियो (सन्दर्भ सामाग्री ३) ।

) एनआरएनए फाउन्डेशनको स्थापना

विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, अझ प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले पूर्व अध्यक्ष जीवा लामिछानेज्यूको अध्यक्षता छुट्टै एनआरएनए फाउन्डेशन निर्माण गरिएको छ । फाउन्डेशनमा ३ महिला सहित ११ जना समिति सदस्य मनोनित भएका छन् । यसको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

५) नेपाल डेभलप्मेन्ट फण्ड लिमिटेडको स्थापना

नेपालमा विकास आयोजना सञ्ंचालन गर्न १० अर्ब रु लगानी भित्र्याउने उद्देश्यका साथ ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’को स्थापना गरिएको छ । संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोज्यूको अध्यक्षतामा स्थापित यस फण्डमार्फत नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्ने लक्ष्य राखिएको छ (सन्दर्भ सामाग्री ३) । यस परियोजनाको लागि गैरआवासीय नेपालीहरुबाट रु ३ अर्ब ५० करोड र नेपाल सरकारको तर्फबाट रु ५० करोड (५%) को प्रतिबद्दता प्राप्त भइ सकेको छ ।

६) एनआरएनए पोलिशी इस्टिच्यूट स्थापना उन्मुख

एनआरएनए पोलिशी इस्टिच्यूटको विनियम तयार गरी स्थापना गर्न पूर्व अध्यक्ष डा शेष घलेज्यू लाई जिम्मा दिएको दिइएको छ ।

७) लाप्राक नमूना बस्ती हस्तान्तरण  

विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा २०७३ साल बैशाख १२ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ वीच त्रिपक्षिय सम्झौता सम्पन्न भई  निर्माण थालिएको लाप्राक नमूना बस्तीका ५ सय ७३ नीजि आवासमा सोही संख्यामा शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ । सो परियोजनामा ५७ करोड ६६ लाख रुपैयाको लगानी भएको छ  (सन्दर्भ सामाग्री ३) ।

८)  संस्थागत उपलब्धि

विशेष महाधिवेशनद्वारा विधानको संशोधन गरिएको छ । जस अनुसार व्यवस्थित निर्वाचन, क्षेत्रीय समितिको संरचना, युवा, महिला तथा पेशगत गैरआवासीय नेपालीहरुको सहभागिता, अनलाइन मतदान लगायत थुप्रै संस्थागत सुधारको सुनिश्चितता गरिएको छ । संघको दुई वर्षे कार्ययोजना तथा रणनीति सार्वजनिक गरिएको छ । विभागीय संरचनाको सुरुवात भएको छ भने ८ विभाग अन्तर्गत विभिन्न ४० समितिको गठन भएको छ । आर्थिक, कर्मचारी, खरिद बिक्री लगायतका १ दर्जन भन्दा बढी नियमावली निर्माण गरिएको छ  । कोरोना महामारीका बीच भर्चुअल माध्यमबाट ५ क्षेत्रीय बैठक एवं सम्मेलन सम्पन्न भएका छन् । मितव्ययी र व्यवस्थित सचिवालयको अवधारणा अनुसार काम भइरहेको छ । महाधिवेशनमा निशुल्क प्रतिनिधिको व्यवस्था यसै कार्यकालबाट प्रारम्भ भएको छ । पञ्जिकृत सदस्यहरुको संख्या ४० प्रतिशतले वृद्धि भएकोछ, अहिलेसम्म कै बढी १ लाख ६ हजार सदस्य बनेका छन् । कोभिड १९ को बाबजूद पनि ६५ राष्ट्रिय समन्वय परिषदले संशोधित विधान अनुसार अधिवेशन सम्पन्न गरेका छन् । रुवाण्डा, टर्की, मेक्सिको, र कोस्टारिकामा नयाँ एनसीसी स्थापना भएको छ भने पहिले निस्क्रिय रहेका चिलि, कम्बोडिया, बेलारुस, पपुबा न्युगिनि, वोत्सावाना सक्रिय भएका छन भने २०१७-२०१९ मा सक्रिय रहेका लेबनन, इरान, भियतनाम, रोमानिया, युक्रेनमा अधिवेशन सम्पन्न हुन सकेन । 

गैरआवासीय नेपाली नागरिकताको सुनिश्चिताको लागि लबि गरिएको छ भने सम्पत्तिको सुरक्षा र गैरआवसीय नेपालीहरुको अधिकारका सम्बन्धमा प्रस्तावित एनआरएनए ऐनमा संशोधनको लागि सुझाव पेश गरिएको छ  ।

९) स्मार्ट एनआरएनए

उच्चतम प्रविधिको प्रयोग गरी सँस्थागत रुपान्तर गर्न अगि सारिएको ‘स्मार्ट एनआरएनए अभियान’ शुरु गरिएको छ । यस अभियान अन्तर्गत एमआइएस प्रणालीबाट सदस्यता वितरणलाई अनिवार्य गरिएको छ । ‘हात–हातमा एनआरएनए’ अभियान अन्तर्गत Smart NRNA एप्सको विकास  गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स्को माध्यमबाट फेस भेरिकेसनमार्फत  सदस्यता वितरण प्रणाली प्रारम्भ भएको छ । साथै, यस एप्सबाट फेस भेरिकेसनमार्फत अनलाईन भोटिङ प्रणालीको विकास गरिएको छ । गैरआवासीय नेपाली संघको नयाँ वेभसाईट सुरु भएको छ । अनलाइनमार्फत सहयोग संकलन तथा सम्पूर्ण पञ्जीकृत सदस्यहरुलाई डिजिटल परिचयपत्र वितरण गरिएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको डिजिडल डेटा वेस स्थापना गरिएको छ । सदस्यहरुको सहुलियत व्यबस्था Smart NRNA एप्सबाट गरिनेछ । सदस्यहरुसँग प्रत्यक्ष संवाद गर्न इमेलप्लाटफर्म तयार गरिएको छ (सन्दर्भ सामाग्री ८) ।

१० ) आर्थिक पारदर्शिता

संस्थाको विगतदेखि वर्तमानसम्मको आर्थिक स्थिति सम्बन्धमा विस्तृत लेखा परिक्षण (डीडीए) रिपोर्ट तयार पारी विगतका कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्ने कार्ययोजना तयार गरेर कार्यान्वयनमा ल्याएका छौँ । यस्तै आन्तरिक लेखापरिक्षक नियुक्ति नै गरेर आन्तरिक लेखापरिक्षण गराउने कार्यको थालनी भएको छ । प्रत्येक तीन महिनामा आर्थिक विवरण सार्वजनिक गर्ने पद्धतिको सुरुवात यसै कार्यकालदेखि कार्यान्वयन ल्याइएको छ । संघका आर्थिक गतिविधीलाई पारदर्शी र व्यवस्थित बनाउन तथा आर्थिक सुशासन कायम गर्ने आर्थिक नियमावली निर्माण गरिएको छ । कर्मचारी, खरिद बिक्री लगायतका नियमावली समेत निर्माण गरिएका छन् । पहिलो पटक बजेट बनाएर खर्च गर्ने परिपाटीको सुरुवात गरी वार्षिक बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ (सन्दर्भ सामाग्री ९)  ।

११) युवा तथा महिला गतिविधि

गैरआवासीय नेपाली संघको महिला समितिको पहलमा महिला हिंसाविरुद्ध १६ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । यस्तै एशिया प्यासिफक युवा फोरमद्वारा २९ देशका ६१ जना दोस्रो पुस्ताका गैरआवासीय नेपाली लक्षित विश्व युवा वक्तृत्वकला सम्पन्न गरिएको छ । यस्तै, विश्वभरि छरिएर रहेका प्रतिभाशाली गैरआवासीय नेपालीलाई लक्षित गर्दै मध्यपूर्ब युवा फोरमद्वारा ‘एनआरएनए दि सिंगर’ प्रतियोगिता आयोजना गरिएको छ भने संस्कृति तथा सम्पदा उपसमितिले एनआरएनए आइडल आयोजनाको तयारी भइरहेको छ ।

१२) ज्ञान तथा प्रविधि

नेपाल सरकारको सहकार्यमा दोस्रो विज्ञ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न ३० देशका ५ सय भन्दा बढी विज्ञको सहभागितामा रहेको थियो । विभिन्न मुलुकमा क्षेत्रीय ज्ञान सम्मेलन सम्पन्न भएका छन् (सन्दर्भ सामाग्री १०, ११)  । एनआरएनए पेशागत तथा प्राज्ञिक इकाई गठन गरी संसार भरका पेशागत गैरआवासीय नेपालीहरु (डाक्टर, नर्स, इन्जिनियर्स, वैज्ञानिक, प्राज्ञ, सोधकर्ता आदि) एकबद्द गर्न विधानमा व्यवस्था गरिएको छ । स्वास्थ्य समितिको संयोजकत्वमा १५ देशका २०० विशेषज्ञहरुको सहभागितामा दोश्रो विश्व स्वास्थ्य सम्मेलन अमेरिकामा  र ३० मुलुकका ३ सय भन्दा बढी चिकित्सकहरुको प्रत्यक्ष र भर्चुअल उपस्थितिमा तेस्रो विश्व स्वास्थ्य सम्मेलन लण्डनमा सम्पन्न भएको छ (सन्दर्भ सामाग्री १२) । ज्ञान तथा प्रविधिको क्षेत्रमा अघि बढ्न नेपाल  विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग सहकार्य सुरु गरिएको छ ।  

१३) सूचना, सञ्चार, प्रकाशन, परोपकार, साहित्य तथा पुरस्कार

कोरोना सम्बन्धी साप्ताहिक बुलेटिन प्रकाशन भएका छन् । यसै कार्यकालमा अंग्रेजी भाषामा न्युज लेटर प्रकाशन सुरु गरिएको छ । त्रैमासिक न्युज लेटर प्रकाशन, क्षेत्रीय तथा विज्ञ सम्मेलन लक्षित बुलेटिन प्रकाशन र नेपाल जर्नल अफ साइन्स एण्ड टेक्नोलोजिमा स्वेत पत्र प्रकाशन गरिएको छ । यस्तै , फेसबुक लगायत सामाजिक सञ्जालको प्रभावकारी परिचालन जारी छ । भाषा तथा साहित्य समितिको सकृयतामा २२ लाख रुपैयाँको साहित्यक पुरस्कार स्थापना गरिएको छ । प्रथम पटकको पुरस्कार यहि अक्टोबर २०२१ मा प्रदान गरिदैछ। प्रवास र नेपालका साहित्य, संस्कृति तथा सम्पदा सम्बन्धि प्रतिभालाई जोडेर साहित्यिक अनलाइन कार्यक्रम ‘प्रवासी प्रवाह’ सेप्टेम्बर सम्म ६८ औ श्रृङखला सम्पन्न भइ सकेको छ । यस्तै, गैरआवासीय नेपाली संघ अन्र्तगतको नेपाली भाषा प्रवर्धन उपसमितिले नेपाली मुलका बालबालिकाहरुलाई लक्षित गरि नैतिक शिक्षा पुस्तक तयार गरेको छ (सन्दर्भ सामाग्री १३)।

१४) मातृभूमिको हितमा एनआरएनए

विश्वभरका गैरआवासीय नेपालीलाई एकैसुत्रमा बाँध्ने र नेपाल र नेपाली कला संस्कृति तथा पहिचानलाई विश्वभर फैलाउन विभिन्न देशमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । सन् २०२० को सुरुवातमा नै भिजिट नेपाल २०२० अभियान सञ्चालन गर्ने नेपाल सरकारको घोषणा पछि सन् २०१९को मध्यबाटै विभिन्न देशमा विविध कार्यक्रम सञ्चालन गरिएका थिए तर कोरोना महामारी फैलिएपछि हाल ती सबै अभियान स्थगित छन् । यस्तै भारतसँगको सीमा क्षेत्र लिपुलेक, कालापानी लगायतको  सीमारक्षाको लागि विश्वभरका नेपालीहरुको ऐक्यबद्धतासहित विभिन्न मुलुकस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाइयो ।

)  नियमित गतिविधि, संघसंस्थाहरुसँग सम्झौतापत्र तथा विविध

अनुसूचीमा दिइए अनुसार  यस कार्यकालमा १० वटा आइसीसी बैठक (औसतमा २ महिनामा एक बैठक), ४२ वटा आइइएस बैठक (औसतमा २ हप्तामा एक बैठक), नियमित रुपमा एनसीसीहरुको बैठक सम्पन्न भएका छन् ।  यस कार्यकालमा विभिन्न ९ संघसंस्थाहरुसँग सहकार्यको लागि सम्झौता भएको छ ।

) आगामी बाटो

  • कोरोना पिडित गैरआवासीय नेपालीहरुको राहत र देश फिर्तीमा उल्लेखनीय काम भएको छ । यस पश्चात नेपाल फर्केका श्रमिकहरुको सीप मूल्यांकन गरी संघ, नेपालको  निजि क्षेत्र,  संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) जस्ता संस्थाहरुबीच आपसी सहकार्य गरी उनीहरुका लागि दिगो पुनःएकीकरण कार्यक्रम, सुरक्षित आप्रवासनसहित लगायतका कामहरु गर्ने ।
  • वैदेशिक रोजगार सम्बन्धि श्वेतपत्रका आधारमा यस क्षेत्रका कार्यक्रम तर्जुमा गर्ने । विदेशमा काम गर्ने श्रमिकलाई पेन्सन (हजारे अभियान) को व्यवस्था गर्न पहिले भएका पहललाई निरन्तरता दिँदै कार्यान्वयन गर्ने । रेमिनान्सबाट प्राप्त हुने रकमको प्रति डलर एक पैसा छुट्टाई श्रमिक कल्याण कोषमा संकलन गर्न नेपाल राष्ट्र बैकसँग गरेको हालको पहललाई निरन्तरता दिने ।   
  • एनआरएनए फाउण्डेशनलाई संस्थागत गरी च्यारिटीका सम्पूर्ण कार्यक्रम फाउण्डेशनमार्फत गर्ने । फाउण्डेशनलाई नेपाल बाहिर पनि स्थापना गरी विस्तार गर्ने ।
  • १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फन्डमा आइपीओमार्फत थोरै आम्दानी हुने गैरआवासीय नेपालीलाई लगानीको अवसर दिने ।

(Corporate Social Responsibility )अन्तर्गत नेपाल डेभलपमेन्ट फन्डबाट संघलाई आर्थिक सहयोग लिने वातावरण बनाउने ।

  • एनआरएनए पोलिसी इस्टिच्यूटलाई संस्थागत गर्ने ।
  • संशोधित विधानमा ल्याइएका नयाँ प्रस्तावहरु पूर्ण कार्यान्वयनमा ल्याउने । यस अन्तर्गत क्षेत्रीय समितिको संरचनाको विकास गर्ने, एनआरएनए पेशागत तथा प्राज्ञिक इकाइ (NRNA Professional and Academic Unit) को स्थापना गर्ने । दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघमा आबद्द गर्न विधानमा संरचना ल्याउने । अहिले सुरु गरिएका एनआरएन आइडल, एनआरएन द सिङ्गर, वक्तृत्वकला जस्ता कार्यक्रमलाई निरन्तरता दिने  र  महिला तथा युवाको सहभागिता बढाउने खालको कार्यक्रम ल्याउने ।
  • यस कार्यकालमा पञ्जीकृत सदस्यहरुको संख्या ४०% ले बढाउन सफल भएपनि हालको पञ्जीकृत सदस्य संख्या बाहिर बस्ने नेपालीको २५ मात्र हुन्छ  । अतः स्वतस्फूर्त रुपमा संघको सदस्य बन्न उत्प्रेरण गर्ने कार्यक्रमहरु ल्याउने र आवश्यक अनुसार संस्थागत संरचनामा परिवर्तन गर्ने ।
  • गैरआवासीय नेपालीहरुको हकहितसँग जोडिएका मुद्दाहरु (नागरिकता, मतदानको अधिकार, सम्पत्तिको सुरक्षा आदि) विषयमा सशक्तरुपमा नेपाल सरकारसँग लबी गर्ने ।   
  • स्मार्ट एनआरएनए अन्तर्गतका ११ कम्पोनेन्ट मध्य अधिकांशमा कार्यान्वयन आएका छन् । यी कम्पोनेन्टमा अहिले देखिएका  कमीकमजोरी सुधार गर्दै बाँकी कम्पोनेन्टलाई पूर्णता दिने । एनसीसीमा देखिएका सदस्यता वितरण र निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन फेस भेरिफिकेसन प्रणालीलाई अनिवार्य बनाउने ।
  • आइसीसीको निर्वाचन पद्धतिलाई थप पूनरावलोकन गर्ने, प्रतिनिधि छनोटलाई पारदर्शी बनाउन एउटा छुट्टै निकायको व्यवस्था गर्ने । संघमा बाह्य हस्तक्षेप निरुत्साहित गरी स्वच्छ र पारदर्शी वातावरण बनाउने ।
  • आइएमओ, आइएओ जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरुको सहकार्यलाई निरन्तरता दिँदै नयाँ अन्तर्राष्ट्रिय साझेदारसँग सम्बन्ध बिस्तार गर्ने ।

) सारांश

कोरोना महामारीका चुनौतीका बाबजूद यस कार्यसमितिले अघि सारेका योजनाहरु नियमित रुपमै कार्यान्वयन भएका छन् । संघका नियमित बैठक, विशेष महाधिवेशन, विज्ञ सम्मेलन, एमआइएस प्रणाली अन्तर्गत सदस्यता वितरण, स्मार्ट एनआरएनए, अनलाइन भोटिङ, प्रतिनिधि दर्ता निस्शुल्क, संस्थागत पुर्नसंरचना, संघभित्र आर्थिक अनुशासन, कोरोना महामारीमा उद्धार तथा राहत, दातृ निकायसँगको सहकार्य लगायतका क्षेत्रमा ऐतिहासिक महत्वका काम सम्पन्न भएका छन् । यसैगरी, एनआरएन फाउण्डेशन, १० अर्ब लगानीको परियोजना, लाप्राक नमुना बस्ती लगायतका पूर्व घोषित कार्यक्रमहरु निष्कर्षमा पुऱ्याइएको छ ।

अन्तमा, विगतमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गराउन आ-आफ्नो स्थानबाट सहयोग गर्नुहुने नेपाल सरकार, राष्ट्रिय समन्वय परिषद, अन्तर्राष्ट्रिय समन्वय परिषद, संरक्षकहरु, सल्लाहकार, मानार्थ सदस्य, मिडिया, सचिवालयका कर्माचारी, पञ्जिकृत सदस्यहरुप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु ।

१ लाख ९३ हजार कोरोना पिडित गैरआवासीय नेपालीहरुलाई राहत

कोरोना महामारीमा ३२ करोड ४७ लाख रुपैयाँ परिचालन

मातृभूमिका लागि पीपीई, मास्क, ल्लोब्स, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री प्रदान 

नेपालका ४ प्रदेशमा अक्सिजन प्लान्टको स्थापना

६१ लाखको मोबाइल ब्लड बस हस्तान्तरण

एनआरएन फाउण्डेशन स्थापना

१० अर्ब रुपैयाँ लगानीको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’को स्थापना

स्मार्ट एनआरएनएको सुरुवात, फेस भेरिफिकेसनबाट अनलाइन मतदानको व्यवस्था

४० % ले सदस्य संख्या वृद्धिहालसम्मकै सर्वाधिक सदस्य 

विशेष महाधिवेशनद्वारा व्यवस्थित निर्वाचनको सुनिश्चितता, संस्थागत संरचनामा परिवर्तन

लाप्राक नमूना बस्ती निर्माणको पूर्णता र हस्तान्तरण

संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन(आइओएम)  र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सँग प्रत्यक्ष सहकार्य

(१७) सन्दर्भ सामाग्रीहरु

This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s