किन बन्दैन नेपाल?

सेतोपाटी, २०१६ मार्च

हिजोआज चिया चौतारादेखि सिंहदरबारका खोपीसम्म नियमीत सुनिने शब्द होः हामी खत्तम भयौँ। मुलुक बर्बाद भो। नेताहरु बदमास भए। देश बर्बाद भो। कसले कसरी समाधान गर्ला?

किन यस्ता निरासा चुलाचौकादेखि उपल्लो नीति निर्माण तहसम्म एकछत्र सुनिन्छ त? के साँच्चिकै यस्तै भएको हो? वा सतही कुरा हुन्? आखिर किन यस्तो निरासाका कुरा?

प्राकृतिक स्रोत र संस्कृतिको धनी देश, विश्वका उदीयमान दुई राष्ट्रबीचमा अवस्थित देश किन बन्दैन? देशले सबैखाले राजनीतिक परिवर्तन भोगिसक्यौं। जहानीया राणा शासन, सक्रिय राजतन्त्र, संसदीय व्यवस्थाहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्दा पनि जनताको जीवनस्तरमा खासै परिवर्तन आएन। आयो त केवल निश्चित शासक वर्गका लागि मात्रै। समाजवादी हुँ भन्नेले सत्ता सम्हालेको पनि धेरै भयो। तर, धनी र गरीबबीचको खाडल झन गहिरियो। स्वाभाविकरुपमा प्रश्न उठ्छ, के राजनीतिक पद्धतिले मात्र देश बन्छ त? के नेताहरुको विद्धत्व र विविधताले फरक पार्छ? प्रधानमन्त्री, राष्ट्रपति, सभामुख जस्ता उच्च ओहोदामा सबैखाले मान्छे देख्यौं, एसएलसीदेखि पीएचडीसम्म, डाक्टरदेखि इन्जिनियरसम्म, कर्मचारीदेखि राजनीतिज्ञसम्म, सादगीदेखि विलासीसम्म, किसानदेखि जमिनदारसम्म सबैले सत्ताको भोग गरे। तर जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्।

नेतामा राजनीतिक दर्शनको ज्ञान नभएर देश नबनेको होला? यसो भनौँ भने मार्क्सवाद, लेनिनवाद र माओवादका पाना पाना कण्ठ छ नेतादेखि कार्यकर्तासम्म, समाजवादी प्रजातन्त्रको सिद्धान्तको व्याख्या सजिलै गर्छन्। राजनीतिक समर्पणको कमि भनौँ भने झण्डै नेल्सन मण्डेला बराबर जेल जीवन बिताएर अनेकाँै यातना खाएका नेता नभएका होइनन्।

के ठुला ठूला क्रान्तिले देशको परिवर्तन गर्छ? नागरिकको बलिदानीको कुरालाई आधार बनाउने हो भने माओवादी क्रान्ति भन्दा ठूलो क्रान्तिको अनुभव देशले अब गर्दैन होला। विकासको योजना नभएर नै देश नबनेको हो भनौँ भने वि स २०१३ देखि अहिलेसम्म जम्मा नौ वटा पञ्चवर्षीय योजना र चारबाट त्रीवर्षीय राष्ट्रिय योजना बनेछन्। आखिर ती योजना कार्यान्वयन कहाँ भए? ती योजनाका ठेली सिहदरवारको दराजमा सजाउनलाई मात्रै हो? नेपाललाई सिङ्गापुर बनाउने नेताका काल्पनिक योजना त कति आए कति।

आन्तरिक द्धन्दले प्रभाव पारेको हो त? धेरैले निहुँ बनाउने गरेका छन् माओवादी द्धन्दलाई।यत्रो लामो इतिहास बोकेको देशमा १० वर्षेको माओवादी वि›ोहको कालखण्ड त्यति लामो होइन। यसबाहेक देश ठूलो आन्तरिक द्धन्दमा नेपाल फसेको छैन।

ठुलो प्राकृतिक प्रकोपबाट पाठ सिक्छौँ त हामीले? झण्डै एक बर्ष हुन लाग्यो, यसको पनि कुनै छाँटकाँट देखिएन। पीडित जनता अझै राहात ल्याउला र जिउ ढाक्नु पर्ला भन्दै खुल्ला आकासमुनि सरकारको मुख ताकिरहेका छन्। ९० सालको भूकम्पको त कुरा छाडौं, गत सालको भूकम्पको पीडा पीडितबाहेक राज्य सञ्चालकले बिर्सिसके। इथोपियामा जस्तो खडेरी र भोकमरी, बंगलादेश जस्तो वर्षौनी वाढीको सामान गर्नुपरेको भए हाम्रो अवस्था कस्तो हुन्थ्यो होला?

अन्तर्राष्ट्रिय जगत्को असयोगले नबनेको हो त देश? उल्लेखनीय अंशं वैदेशिक सहायताबाट प्राप्त छ। आइएनजीओहरुले गाउँ छपक्कै पारेका छन्। भूकम्प जानेबित्तिकै दाताहरु काठमाडौँमै आएर अरबौँ सहयोग गरे। संसारबाट मानिस खनिन्छन्, हिमाल हेर्न।, बुद्धभूमि र पशुपतिको दर्शन गर्न। आखिर के दिएको छैन, हामीलाई प्रकृतिले?

यी सबै गर्न नसक्नुको कारण छिमेकीको भूमिकाले होला त? सिमानाका नेपालीलाई चर्पी जाने ठाउँदेखि ठुला क्रान्ति गर्दा नेतालाई आश्रय दिएको इतिहास छ छिमेकीले। आर्थिक सहयोग त छदैछ, प्राकृतिक प्रकोपको बेलामा राहात ल्याएर ढोकामै आएका छन्।

के देशको शिक्षा पद्धति नै यस्तो छ जसले सक्षम मान्छे नै उत्पादन गर्न सक्दैन? यो पनि पत्याउन गाह्रो छ। आखिर सधँै बहानाबाजीले मात्रै संभव छ र? यही शिक्षाको जगमा अक्सफोर्ड, हार्वर्ड जस्ता विश्वविख्यात विश्वविद्यालयमा प्राध्यापन गर्छन् नेपालीहरु। कोही नाशामा वैज्ञानिक बनिसके। पहिलो पटक विश्वमा मेडिकल चमत्कार गर्नेदेखि अमेरिकी प्रथम महिलाको फेसन डिजाइन गर्नेसम्म नेपाली छन्।

मिहेनत हाम्रो नियति नै भएको छ। बिहान कुखुरा नबास्दैदेखि बेलुकी आँखा देख्ने बेलासम्म घाँस दाउरा गर्दागर्दै मेरा हजुरबा हजुरआमाले जस्तै कतिले ज्यान गुमाउनु भयो? अहिले लाखौँ दाजुभाइहरु मध्यपूर्वमा पसिना बगाउँदैछन्। रोल्पाका कति वीरबहादुर बुढामगरहरु दिक्क नमानी खाडीमा उँट चराउदै छन्। दैनिक खाडीबाट लास भरिएका बाकस आउँदा पनि हरेस खाएका छैनौँ हामीले।

पढेलेखेका मानिस र जुझारु युवा विदेशिएर देश नबनेको हो कि? आमनेपाली विदेश जान थालेको दुई दशक मात्र भएको छ। १९९० को प्रजातन्त्र भन्दा पहिले भनसुनबिना पासपोर्ट पनि प्राप्त गर्न मुस्किल थियो। विदेशिएका नेपालीले दीर्घकालमा आर्थिक र सामाजिकरुपमा कस्तो असर गर्ला? छलफलको विषय बन्न सक्छ। तर तत्काललाई देश टाट पल्टिनबाट यिनीहरुले बचाएका छन्। कुल ग्राहस्य उत्पादनको करिब एक तिहाई रेमिटेन्सले धानेको छ, नेपालको अर्थतन्त्र। 

भनिन्छ मानिस पत्रैपत्रले बनेको हुन्छ। विदेशमा प्राप्त गरेको अनुभव होस् वा राजनैतिक दर्शन र उच्च शिक्षाले प्राप्त गरेको ज्ञान। सबै बाहिरी आवरणमा विकसित हुने रहेछ। बाहिरी आवरण जस्तै परिस्कृत भित्री गुदी नहुन पनि सक्दो रहेछ। सामान्य अवस्थामा मानिसको बाहिरी आवरणले काम गर्दोरहेछ। विशेष निर्णय गर्दा र विवेकको प्रयोग गर्दा भने भित्री गुदीको प्रयोग हुँदोरहेछ। आमनागरिक, नेता र राष्ट्र सेवकका गुदी जबसम्म राम्रो हुँदैन, तबसम्म देश बन्न मुस्किल छ। त्यो गुदी भनेको परिवार र समाजले सिकाएको आचरण र संस्कार रहेछ। खराब आचरण र संस्कारमा हुर्केको मान्छेको आवरणमा जति नै राम्रो भए पनि आशा गर्न नसकिने रहेछ। मानिसको गुदी परिवर्तन गर्न सानोतिनो साधनाले नपुग्दो रहेछ।

भ्रष्टाचार गर्नु, आफ्नो कर्तब्य पालना नगर्नु, ऐन कानून नमान्नु, ठगी गर्नु अपराध हो भन्ने संस्कारमा हुर्केको नेता वा कर्माचरी अथवा ट्याक्सी चालक नै छ भने पनि कर्तब्यनिष्ठ हुँदोरहेछ। तर दुर्भाग्य, यस्ता मानिसको संख्या न्यून छ।

सारांशमा भन्दा राजनीतिक परिवर्तनले मात्र देश नबन्ने रहेछ। राजनीतिका साथै सामाजिक र आम नागरिकका सांेचमा परिवर्तनको पनि हुन जरुरी छ। सबै राजनीतिक दलले देशमा राजनीतिक स्थिरतापछि देश आर्थिक विकासमा केन्›ित हुने उद्घोष गरेका छन्। नयाँ शक्ति यसैको लागि देश दौडाहामा छ। सायद नेपाली कांग्रेसको १३औ महाधिबेसनले पनि यही दिशा तय गर्ला। आर्थिक विकासमा लागि अनुसाशान, असल आचरण र राम्रो संस्कार आवश्यक छ। देशलाई इतिहास, प्रकृति र भूगोलले ठगेको छैन। सकारात्मक सांेच भएका युवा, प्रहरी, सेना, कर्मचारी जमात बढ्दो भएकाले आशा गर्ने ठाउँ छ। केवल खाँचो छ त धैर्यताको। राजनीतिक परिवर्तनपछि सामाजिक परिवर्तन आउन युरोपले पनि लामै समय कुर्नुपरेको थियो। त्यसैले हामीले पनि विविध कष्ट सहेका छौँ, सायद सुखका लागि पनि त हुन सक्छ कष्ट। त्यसैले सकारात्मक सोंचसाथ सबैले आआफ्नो तहबाट मुलुकको विकासमा योगदान गर्ने कि?  

This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s